म्याग्दी, कात्तिक ८ गते। पुर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आउने आन्तरिक पर्यटकको सङ्ख्यामा बृद्धि भएको छ ।
घुमघामका लागि अनुकुल शरदयाममा दसै, तिहार, छठ लगायत चाडपर्वको लामो बिदा पारेर शिक्षक, विद्यार्थी, कर्मचारी, आमा समूह, युवा क्लवको टोली बनाएर ढोरपाटन घुम्न आएका हुन् । चालु आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म पाँच हजार दुई सय चार जना पर्यटकले ढोरपाटन भ्रमण गरेका शिकार आरक्षका रेञ्जर सागर सुवेदीले जानकारी दिनुभयो । साउनमा पाँच सय १८, भदौमा तीन हजार ३२ र असोजमा नौ जना विदेशी सहित एक हजार छ सय ५४ जना पर्यटक आएका उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०८०÷८१ मा १५ हजार पाँच सय ७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्यटन शीर्षकमा रु. १९ लाख ३३ हजार सात सय राजस्व संकलन भएको थियो । २०७९÷८० मा सात हजार छ सय ४५ जना पर्यटक आएका थिए ।
ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरुको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति एक हजार पाँच सय र अन्य देशकाले रु. तीन हजारका दरले शूल्क तिर्नुपर्छ ।
दसै विदाको अवसर पारेर फराकिलो फाट, बुकी, गाईभैसी, भेडा, घोडाको गोठ, वन्यजन्तु, पंक्षी, वनजंगलको दृष्य अवलोकन गर्न साथीहरुसँगै ढोरपाटन घुमेर आएको बेनी नगरपालिका–१० पात्लेखेतको दिपक मा.वि.का प्रधानाध्यक विष्णुप्रसाद ढुंगानाले बताउनुभयो ।
एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन शिकार आरक्षले पुर्वी रुकुमको ६०, बागलुङको २६ र म्याग्दीको १४ प्रतिशत भूगोल ओगटेको छ । ढोरपाटनमा रहेका २१ वटा होटल र होमस्टेमा दैनिक तीन सय जना बास बस्न सक्ने क्षमता छ ।
सडक यातायात, होटल तथा घरवास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिमा रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तिमगरले बताउनुभयो ।
गतअसोज र यही कात्तिकको यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारका लागि अनुमति दिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । चार कम्पनी मार्फत १२ विदेशी सिकारीले सिकारको अनुमति लिएका छन् ।
सिकारका लागि अनुमति दिएका नाउर, झारल र बँदेलको गरी कूल रु. एक करोड ४५ लाख ९२ हजार चार सय राजस्व आम्दानी भएको छ । विदेशी सिकारी टोली आरक्षमा आइसकेका छन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ, घुस्तुङ ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । यहाँ ३२ प्रजातिका स्तनधारी वन्यजन्तु र १३७ प्रजातिका पंक्षीहरु छन् ।