दाङ, कात्तिक ७ गते । घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त हुनुहुन्छ । “लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उहाँले व्यावसायिक रूपमा मौरीपालन थाल्नुभएको १६ वर्ष पूरा भयो ।

हाल उहाँको फार्ममा एक सय ५० मौरीसहितका घार छन् । उहाँले वर्षमा सात टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आउनुभएको छ । मौरीपालन गर्न सिकेपछि व्यावसायिक रूपमा लाग्नुभएका उहाँको घरबाटै मह बिक्री हुनेगरेको छ । वार्षिक १६ लाखको कारोबार गरिरहनुभएका पौरखी घर्तीले रु सात लाख बचत हुने बताउनुभयो । एक किलो मह पाँच सयमा बिक्री गर्दै आएको उहाँले सुनाउनुभयो ।

वर्षा र शिशिर याममा विशेष ध्यान दिएमा मौरीपालनबाट प्रशस्त प्रतिफल लिन सकिने भन्दै उहाँले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताउनुभयो । गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । मौरीपालन व्यावसायिक रूपमा सुरु गरेदेखि अहिलेसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उहाँको भनुभव छ । बुढ्यौलीमा अन्य पेसा गर्न नसिकरहेको अवस्थामा मौरीपालन व्यवसाय निकै सहज भएको उहाँ बताउनुहुन्छ । यस व्यवसायमा अलि बढी अध्ययनशील हुन आवश्यक रहेको छ, चरनका लागि घोराही उपमहानरपालिकाको माथिल्लो भेगतिर लैजाने गरेको उहाँले बताउनुभयो ।