काठमाडौँ, कात्तिक ७ गते । प्रधानमन्त्री भएको पछिल्लो सय दिनमा ओलीले छिमेकी भारत र चीन दुवै देशबाट औपचारिक भ्रमणको निमन्त्रणा पाएका छैनन् । कूटनीतिक मामलाका जानकार प्रधानमन्त्री छिमेकसँग राम्रो सम्बन्ध बनाउन चुकेको बताउँछन् । यद्यपि, यसबिचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सरकारका तर्फबाट दुईपटक वार्ता भएको छ ।

सुरुमा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्रीका तर्फबाट दिल्लीमा र त्यसपछि ओलीले अमेरिकामा मोदीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिए, तर मोदीका तर्फबाट ओलीलाई भारत भ्रमणको मौखिक निमन्त्रणासमेत प्राप्त भएन ।

परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले ३ भदौमा प्रधानमन्त्री मोदीसँग दिल्लीमा शिष्टाचार भेट गर्नुभयो । प्रधानमन्त्री ओलीले ६ असोज (सेप्टेम्बर २२)मा संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन जाने क्रममा न्युयोर्कमा मोदीसँग आधा घण्टा साइडलाइन वार्ता गर्नुभएको थियो । ओलीले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दोहोर्‍याए, तर ओलीलाई मोदीबाट भारत भ्रमणको निमन्त्रणा प्राप्त भएन । ओलीलाई मोदीले मौखिक निमन्त्रणा पनि नगरेको भेटमा सहभागी एक अधिकारीले बताउनुभयो ।

न्युयोर्कमै प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबिच ११ असोजमा साइडलाइन भेट भयो । पछिल्लोपटक प्रधानमन्त्री भएपछि ओलीले चीनसँग उच्चस्तरमा गरेको वार्ता यही नै हो । भारतले जस्तै चीनले पनि प्रधानमन्त्री ओलीलाई भ्रमणको निमन्त्रणा दिएन ।

चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको विवरणमा ‘नेपालका प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा विदेशमन्त्री यीलाई साइडलाइनमा भेटेको’ उल्लेख गर्‍यो । विदेशमन्त्री यीले ओलीलाई शिष्टाचार भेट गरेको व्यहोरा चिनियाँ वक्तव्यमा छैन ।

स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण निश्चित छैन । ‘निमन्त्रणा नआएका कारण प्रधानमन्त्रीको भारत भ्रमण पनि निश्चित भएन । प्रधानमन्त्रीले चीन भ्रमणका लागि इच्छा देखाउनुभएको छ, तर चीनबाट पनि शीर्ष नेताहरूको समय उपलब्ध छ भन्ने सङ्केत आएको छैन,’ उच्च कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो ।

वर्तमान सरकारले बिआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने रुचि नदेखाएपछि चीनले प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गर्ने अवस्थामा नभएको जानकारको आँकलन छ । ‘बिआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गर्नुभयो भने प्रधानमन्त्री ओलीको सरकार त्यहीँनेर ढल्ने सम्भावना हुन्छ, किनभने काङ्ग्रेसको त्यसमा सहमति छैन,’ एक एमाले नेताले सुनाउनुभयो, ‘कुनै ठोस एजेनण्डा वा सहमति गर्ने केही बुँदा नहुँदा प्रधानमन्त्रीलाई बोलाउनका लागि मात्रै किन बोलाउने भन्ने चिनियाँ पक्षको आशय बुझिन्छ ।’ यो समाचार आजको नयाँपत्रिका दैनिकमा प्रकाशित छ ।