फाइल तस्वीर
पाल्पा, कात्तिक ६ गते ।
पाल्पामा खेलकुदका गतिविधि बढ्दै गएका छन् । खेलकुदमा खेलाडीको मनोबल बढाउन प्रतिस्पर्धात्मक रुपमा विभिन्न खेलहरु सञ्चालनमा ल्याइएका हुन् ।

मण्डली स्पोर्टस क्लब पूूर्वखोला–१ सिलुवाको आयोजनामा पाल्पामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक रुपमा खेल हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक हुनेगरी खुल्ला क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोेगिता सञ्चालन हुने भएपछि खेलप्रेमीमा उत्साह बढेको छ । 

यही कात्तिक २१ देखि २४ गतेसम्म आठौँ मण्डली कप २०८१ सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीको सहभागिता रहनेछ । क्लबमार्फत जुनसुकै स्थानका खेलाडी पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने अवसर रहेको आयोजकले बताएको छ ।

प्रतियोगितामा विभागीय टोलीबाहेक अन्य जुनसुकै क्लबले पनि प्रतिस्पर्धा गर्न पाउने र विभागीय क्लबका खेलाडी पनि अन्य क्लबमार्फत प्रतियोगितामा सहभागी हुन पाउनेछन् । पुरुषतर्फ छ क्लब र महिलातर्फ चार क्लबको सहभागिता रहने क्लबका अध्यक्ष एवम् भलिबलका राष्ट्रिय रेफ्री अनन्तप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा १४ खेल हुनेछन् ।

पुरुष भलिबल प्रतियोगितातर्फ प्रथम हुनेलाई एक लाख ५० हजार रुपैयाँ, द्वितीय पुरस्कार एक लाख रुपैयाँ, तृतीय पुरस्कार ७० हजार रुपैयाँ र सान्त्वना पुरस्कार ३५ हजार रुपैयाँ रहेको क्लबका सचिव कृष्णप्रसाद पँगेनीले बताउनुभयो । यस्तै, महिलातर्फ प्रथम पुरस्कार ३० हजार रुपैयाँ, द्वितीय पुरस्कार २० हजार रुपैयाँ, तृतीय पुरस्कार १० हजार रुपैयाँ र सान्त्वना पुरस्कार पाँच हजार रुपैयाँ रहेको छ ।