फाइल तस्वीर
तनहुँ, कात्तिक ६ गते ।
जिल्ला सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । फोहर सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले दुई लाख १७ हजार चार सय ३९ रुपैयाँ आम्दानी गरेको हो ।

नगरपालिकाले पानीका बोतल, आल्मुनियम, टीन, फलाम, कपीकिताब, गत्ता, टुक्रा कागज, सिसालगायत पुनःप्रगोग गर्न मिल्ने वस्तु बिक्री गरी दुई लाख १७ हजार चार सय ३९ रुपैयाँ आम्दानी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो । नगरले गत भदौ ८ गतेदेखि फोहरको सुक्ष्म वर्गीकरण थालनी गरेको थियो । गत साउनदेखि सिसा उठाउन सुरु गरेको थियो । 

करिब एक लाख रुपैयाँ बराबरका एलडी, एचएम, पिपी, गुडियालगायत सामानहरु बिक्रीका लागि तयारी अवस्थामा राखिएको गैरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ती सामग्रीहरु बिक्रीका लागि तयारी अवस्थामा छन् । तिहार अघि बिक्री गर्नेछौँ ।”

नगरले दुई हजार चार सय ५९ किलो पानीका बोतल तथा अन्य बोतलबाट ५६ हजार पाँच सय ६८ रुपैयाँ, एक सय तीन आल्मुनियमबाट छ हजार एक सय ८० रुपैयाँ, पाँच सय ६२ किलो टीनबाट १४ हजार ६२ रुपैयाँ, एक सय ७९ किलो फलामबाट छ हजार दुई सय ६५ रुपैयाँ, तीन सय २६ किलो कपीबाट पाँच दुई सय १६ रुपैयाँ, पाँच सय ६० किलो किताबबाट सात हजार आठ सय ४० रुपैयाँ, तीन हजार दुई सय १० किलो गत्ताबाट ३५ हजार तीन सय १० रुपैयाँ र सिसाबाट ८४ हजार छ सय ७७ रुपैयाँ आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत गैरेले जानकारी दिनुभयो ।

फोहरमैला व्यवस्थापनको चुनौती भइरहेकाले नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेको हो । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गर्ने र बिक्री गर्न योग्य फोहरबाट आम्दानी गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एकैठाउँमा सबै फोहर सङ्कलन गर्दा समस्या हुने भएकाले कुहिनेलाई छुट्टै गाडीमा र नकुहिनेलाई छुट्टै गाडीमा सङ्कलन गरिरहेका छौँ ।” 

फोहरमैला व्यवस्थापनका लागि नगरपालिकाले एकजना सरसफाई विज्ञलाई छ महिना अघि नियुक्त गरेको थियो । सरसफाई विज्ञ कृष्ण भण्डारीको सल्लाह अनुसार अहिले कुहिने र नकुहिने फोहर वर्गीकरण गरी व्यवस्थापनको काम अगाडी बढाइएको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

“भण्डारीले धनगढी, वालिङलगायत क्षेत्रमा सफलतापूर्वक फोहर व्यवस्थापनको काम उदाहरणीय रुपमा सम्पन्न गरिसक्नुभएको छ । उहाँको सहयोगमा हामीले  फोहर उठाउँदा नै कुहिने र नकुहिने छुट्याउने गरिरहेका छौँ ।”

सरसफाइ विज्ञ भण्डारीले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाउने काम गरिरहनुभएको छ । नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लाष्टिकजन्य वस्तु छुट्याएर आम्दानी गर्न थालेको नगरप्रमुख न्यौपानेले उल्लेख गर्नुभयो । फोहरमैला व्यवस्थापनको दीर्घकालीन समाधानका लागि व्यास–१३ मा जग्गा खरिदको प्रक्रिया अगाडि बढिसकेको उहाँले जानकारी दिनुभयो ।  

नगरवासीलाई कुहिने र नकुहिने फोहरलाई छुट्टै गाडीमा राखी सरसफाई तथा फोहर व्यवस्थापन अभियानमा सघाउन नगरप्रमुख न्यौपानेले आग्रह गर्नुभयो । करिब ३२ वर्षसम्म फोहरमैला व्यवस्थापनको स्थायी समाधान गर्न नसकिएको बताउँदै उहाँले भन्नुभयो, “विगतमा फोहर व्यवस्थामा समस्या आएकाले अहिले जग्गा खरिद प्रक्रिया अगाडी बढाएका छौँ ।”

नगरपालिकाले कुहिने फोहरलाई दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने काम गरिरहेको छ । नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रुपमा ११ टन फोहर सङ्कलन गर्दै आइएको जनाएको छ । रासस