काठमाडौँ, कात्तिक ५ गते। भाषाविना पत्रकारिताको कल्पना गर्न सकिन्न । संसारमा कुनै न कुनै भाषा प्रयोग गरेर नै पत्रकारिता वा आमसञ्चार माध्यम सञ्चालन भइरहेका छन् । अन्तर्राष्ट्रिय रूपमा संयुक्तराष्ट्रसङ्घले अङ्ग्रेजी, चिनियाँ, फ्रान्सेली, रुसी, अरबी र स्पेनी भाषालाई आधिकारिक प्रयोग गरिरहेको छ । यी सबै भाषामा पत्रकारिता भइरहेको छ । संसारका करिब दुई सयभन्दा बढी देशमा आफ्नो मातृभाषा प्रयोग गरेर नै सञ्चार कर्म भइरहेको छ ।

मातृभाषामा गरिने पत्रकारिता वा सञ्चार कर्म नै मातृभाषा पत्रकारिता हो । नेपालका हकमा राष्ट्रको सम्पर्क भाषा नेपाली र अन्तर्राष्ट्रिय सम्पर्क भाषा अङ्गे्रजीका अलावा अन्य विभिन्न जातीय र भाषिक समुदायले बोल्ने राष्ट्र भाषामा पत्रकारिताको अभ्यास भइरहेको छ । नेपालका लागि मातृभाषा पत्रकारिताका जन्मदाता धर्म आदित्य धर्माचा्र्य (धर्मादित्य धर्माचार्य–जगत्मान वैद्य) हुन्, जसले प्रवास भारत कोलकातामा रहेर नेपाल भाषामा नेपाल संवत् १०४५ (विसं १९८१) मा ‘बुद्धधर्म व नेपालभाषा (नेपालिज)’ पत्रिका प्रकाशन गरे, जसका प्रकाशकमा नेपाल बुद्धधर्म उद्धार सङ्घ थियो । 

धर्माचार्य नै सम्पादक रहेको सो पत्रिका उद्धार सङ्घको धर्मप्रचारपत्र तथा बुद्धधर्म, बौद्ध साहित्य र सभ्यता तथा नेपाल भाषा साहित्य मण्डलको मुखपत्र नै थियो । त्यसपछि सत्यमोहन जोशी, आशाराम शाक्य, फत्तेबहादुर सिंह, नवोनाथ झा नवीन, पण्डित सुन्दर झा शास्त्री आदिले नेपालभाषा, मैथिली आदिबाट मातृभाषामा पत्रपत्रिका प्रकाशन गरी मातृभाषा पत्रकारितालाई अगाडि बढाएको इतिहास पाइन्छ । तर मातृभाषामा पत्रकारिता फस्टाउन नसकेको तीतो यथार्थ हामीसामु रहेको छ । मातृभाषामा प्रकाशन भइरहेका सञ्चार माध्यमको मुख्य समस्या भनेको समाचार सामग्री हो । मातृभाषा बोल्न सजिलो छ । तर मातृभाषा पत्रकारिता गर्न जटिल विषय हो । पत्रकारिता एक प्राविधिक विषय भएकाले जनशक्ति पाउन मुस्किल छ ।

राष्ट्रिय समाचार समिति (रासस)ले विगत ६३ वर्ष अगाडिदेखि नेपाली सञ्चार माध्यमलाई समाचार सामग्री उपलब्ध गराउँदै आएको छ । तर राससको समाचार पनि नेपाली र अङ्ग्रेजी भाषामा मात्रै सीमित थियो । मातृभाषामा प्रकाशन र प्रसारण भइरहेका सञ्चार माध्यमलाई राससको सेवाले खासै सहयोग नपुग्दा कतिपय ती सञ्चारमाध्यम बन्द भएका छन् वा बन्द हुने अवस्थामा पुगेका छन् । मातृभाषामा प्रकाशित र प्रसारण भएका सञ्चार माध्यमको विकास र संरक्षण गर्ने दायित्व राज्यको पनि हो । स्वभावैले रासस राज्यको अङ्ग हो । त्यसैले ती सञ्चार माध्यमलाई जोगाउँदै मातृभाषाको पत्रकारितालाई विकास गर्न राससले मातृभाषामा समाचार सेवामार्फत सानो प्रयास थलानी गरेको छ । हाल मैथिली, नेपालभाषा र अवधी भाषामा समाचार सेवा दिइरहेको राससको यो प्रयासले सञ्चार माध्यमलाई बचाउन टेवा पुग्छ भन्ने विश्वास रहेको छ । 

नेपालको संविधान २०७२ ले नेपाल, विविधायुक्त बहुजाति, बहुभाषिक, सांस्कृतिक र बहुधार्मिक देश हो भनेर परिभाषित गरेको छ । संविधानको यही मर्मअनुसार नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएको छ । संविधानको मर्म र भावनालाई आमसात् गर्ने र त्यसलाई कार्यान्वयन गर्ने दायित्व राज्यका निकायहरुको हो । त्यसैले राससले पनि समावेशी चरित्र भएको नेपाली समाजलाई स्वीकार गरी आफ्नो दायित्व निर्वाह गरिरहेको छ । यही कारण रासस स्थापना भएको ६३ वर्षपछि नयाँ सेवाका रुपमा मातृभाषाको समाचार सेवालाई थप गरेको हो । विसं २०८० माघमा अवधी भाषाबाट सेवा सुरुआत गरेको राससले २०८१ असोज २९ गतेदेखि मैथिली र नेपाल भाषामा समाचार सेवा सुरुआत गरेको छ । 

राष्ट्रिय जनगणना २०७८ अनुसार  नेपालमा एक सय ४२ जातजाति,  एक सय २४  मातृभाषा र १० धर्म रहेका छन् । यी मातृभाषामध्ये एक प्रतिशतभन्दा बढीले बोल्ने भाषा १३ वटा रहेका छन् । मध्यपश्चिम तराईमा बोलिने अवधी भाषा २.९६ प्रतिशत अर्थात् आठ लाख ६४ हजार दुई सय ७६, जनसङ्ख्याले बोल्ने गरेको तथ्याङ्क राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ । मध्यपूर्वी तराईमा बोलिने मैथिली भाषा ११.०५ प्रतिशत अर्थात् ३२ लाख २२ हजार तीन सय ८९ जनाले बोल्छन् । त्यस्तै, नेपाल भाषा २.९६ प्रतिशत अर्थात आठ लाख ६३ हजार तीन सय ६८ जनाले बोल्छन् । यी तीनवटै भाषामा पत्रपत्रिका र अनलाइन न्युज पोर्टल नियमित सञ्चालनमा छन् । भौगोलिक क्षेत्रअनुसार रेडियो र टेलिभिजनले समेत समाचार र कार्यक्रम सञ्चालन गरिरहेका छन् । सञ्चार माध्यम सञ्चालनको हिसाले यी तीनवटै भाषामा प्रकाशन हुने सञ्चार माध्यमको सङ्ख्या पनि धेरै रहेको छ । राससले मातृभाषामा समाचार सम्प्रेषण गरेपछि सम्बद्ध भाषामा प्रकाशन हुने पत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र अन्य समाचार संस्थालाई सहयोग पुग्न सक्नेछ भन्ने हाम्रो विश्वास रहेको छ । मातृभाषामा समाचारले आम नागरिकलाई प्रभावकारी सूचना प्रवाह गर्न, भाषाको संरक्षण र विकासमा प्रभावकारी भूमिका निर्वाह गर्नेछ भन्ने हामीलाई लागेको छ । 

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुनै पनि भाषा ५० प्रतिशतभन्दा बढी बोलिँदैन । नेपाली भाषा सबैभन्दा बढी ४४.८६ ले मात्रै बोल्छन् । यो तथ्यले के भन्न सकिन्छ भने नेपाल अल्पभाषिक समुदायको देश हो । देशको जातीय र भाषिक विविधता छ । त्यसैले सञ्चारमाध्यममा पनि भाषिक विविधता छ । यही कारण राससले सञ्चारमाध्यममा बहुलवादलाई स्वीकार गरी मातृभाषामा समाचार सेवा सञ्चालनमा ल्याएको हो । सञ्चारमाध्यमको विषय र सन्दर्भ मात्रै विविधता छ भन्ने बुझाइलाई फराकिलो बनाउने क्रममा अब सञ्चारमाध्यमको भाषामा पनि विविधता छ भनेर हामीले स्वीकार गरेका हौँ । राससको यो सानो कार्यले नेपाली भाषा नबुझ्ने भाषिक समुदायलाई आफ्नै भाषामा सूचना प्राप्त गर्ने अधिकारको सुनिश्चित गर्नेछ भन्ने हाम्रो निष्कर्ष हो । 

राससले स्थापनाकालदेखि नै सरकार र जनताको पुलको रुपमा काम गरिरहेको यहाँहरु सबैलाई जानकारी नै छ । ६३ वर्ष लामो राससको इतिहासमा विभिन्न कालखण्डमा राससको सेवामा परिमार्जन र परिस्कृत गर्ने कार्यहरु हुँदै आएका छन् । समयानुकूल सेवा क्षेत्रको विस्तार र नयाँ प्रविधिको प्रयोग गरी अविछिन्न रुपमा क्रियाशील रहँदै आएको छ । राज्यको अधिकारिक एक मात्र समाचार एजेन्सीका रुपमा रासस २०१८ फागुन ७ गते निरन्तर क्रियाशील रहेको छ । ‘सूचना र सञ्चार, जनताको अधिकार’ भन्ने मूलमन्त्रअनुसार राज्यले दिने सेवा र सरकारको कामको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सूचना सम्प्रेषण गरेर राससले अलग्गै पहिचान बनाएको छ । 

आजको ‘डिजिटल’ युगमा आफूलाई समयनुकूल परिवर्तन गरी सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न, राससले हरसम्भव प्रयास गरिरहेको छ । राससले आफूले दिने सेवालाई विविधीकरण गर्दै लगेको छ । राससले नेपाली र अङ्ग्रेजी भाषामा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार सेवा, आलेख, विचार, फोटो, भिडियो र अडियो सेवा सञ्चालन गर्दै आएको थियो । पछिल्लोपटक राससले मातृभाषाको समाचार सेवा सुरुआत गरेको छ । राससले आर्थिक वर्ष २०८१÷८२ को सरुआतदेखि नै नयाँ योजनासहित कार्य गरिरहेको छ । यसै सन्दर्भमा राससको समाचार सेवाको समयसीमा १७ घण्टाबाट बढाएर २४ घण्टा पु¥याएका छौँ । यो कार्य सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तीन महिनाभित्र गर्नुपर्ने काममध्ये एक थियो, जुन कार्य राससले तोकिएकै समयमा २०८१ भदौ १७ गते औपाचारिक शुभारम्भ गरी पूरा गरेको छ । अर्को कार्य भनेको रासस सञ्चारमाध्यम सङ्ग्रहालय हो । रासस कार्यालयको दुईवटा कोठामा, राससले प्रयोग गरेका पुराना सञ्चार सामग्रीहरु र समाचार बुलेटिनसहितको सङ्ग्रहालय सञ्चालनमा ल्याइएको छ । 

राससले आफ्नो सेवालाई विविधीकरण गर्ने क्रममा २०८० पुस २३ गतेदेखि अवधी भाषामा मातृभाषा समाचार सेवा सञ्चालनमा ल्याएको थियो । यो सेवालाई विस्तार गर्ने क्रममा आज मैथिली र नेपाल भाषामा पनि समाचार सेवा शुभारम्भ गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा यो सेवा सुरुआत गरेको हो । यो कार्य पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तीन महिनामा गर्नैपर्ने कार्यमध्ये एक थियो । यसरी राससले नेपाल सरकार, सूचना प्रविधि मन्त्रालयको योजनाअनुसार तोकिएकै समयमा काम सम्पन्न गरेको छ । विविधतामा एकता कायम गर्नका लागि राससले सुरुआत गरेको मातृभाषा समाचार सेवाले स्थानीय सञ्चारमाध्यमलाई सहयोग गरी भाषाको संरक्षण गर्न टेवा पुग्ने विश्वास गरिएको छ । पछिल्लो समय नयाँ प्रविधिको विकासले पत्रकारिता गरिरहेका पत्रकार र संस्थालाई चुनौती दिइरहेको अवस्था छ । विश्वस्तरीय समाचार एजेन्सीका रुपमा विकसित गरी विश्वका अन्य समाचार एजेन्सीसँगको प्रतिस्पर्धाका लागि तयार रहनु राससका लागि अपरिहार्य छ । त्यसैले राससलाई यथास्थितिबाट अगाडि बढाउने कार्यमा मातृभाषाको समाचार सेवाले केही योगदान गर्छभन्दा फरक पर्दैन । 

राससको मूल कार्य समाचार सङ्कलन र सम्प्रेषण नै हो । राज्यको आधिकारिक सूचनालाई सञ्चारमाध्यम मार्फत जनतासम्म पु¥याउने र जनताको विचारलाई राज्यसम्म पु¥याउने पुलका रुपमा राससले भूमिका निर्वाह गरिरहेको छ । राज्यले दिने सेवा र सरकारको कामको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सूचना सम्प्रेषण र प्रचारप्रचार गरी सरकारको मुख्य प्रचार साझेदारका रुपमा राससले पहिचान बनाएको छ । हिजो थोरै सञ्चारमाध्यमका लागि अति आवश्यक रहेको राससको समाचार सेवा आज आएर सबै सञ्चारमाध्यमका लागि अपरिहार्य बनेको छ र बन्दै गएको छ । हिजो राससको सेवा खासै प्रयोग नगरी आफ्नै क्षमतामा समाचार उत्पादन गर्ने सञ्चारमाध्यमले समेत अहिले राससको सेवा लिएका छन् । यसो भन्दैमा राससले अहिले गरिरहेको कार्य मात्र पर्याप्त छ भन्ने होइन, परिवर्तित सन्दर्भमा प्रविधिको अधिकतम् उपयोग गरी छिटो, सत्यतथ्य सूचना आम जनतामा पु¥याउन राससले धेरै गर्न बाँकी छ । आगामी दिनमा क्रमशः यसमा सुधार हुँदै जाने नै छ । (लेखक राससका महाप्रबन्धक हुनुहुन्छ)