वासिङ्टन, कात्तिक ४ गते । अमेरिकाले इरानविरुद्ध सम्भावित जवाबी आक्रमणको लागि इजरायलको उच्च वर्गीकृत गोप्य योजना चुहावटबारे अनुसन्धान गरिरहेको परिस्थितिसँग परिचित तीन जना व्यक्तिबाट प्राप्त जानकारी अनुसार सिएनएनले जनाएको छ ।

यी स्रोतहरू मध्ये एकले उक्त दस्तावेजको प्रामाणिकतालाई पुष्टि गरेको छ । एक अमेरिकी अधिकारीले उक्त गोप्य सुचना चुहावटलाई गम्भिर चिन्ताको विषयको रुपमा वर्णन गर्नुभएको अमेरिकी समाचार माध्यमले जनाएको छ ।

टेलिग्राममा “मिडल इस्ट स्पेक्टेटर“ नामक खाताद्वारा पोस्ट गरिसकेपछि अक्टोबर १५ र १६ का कागजातहरू शुक्रबार अनलाइन प्रसारित हुन थाले। अत्यन्तै गोप्य रूपमा चिह्नित उक्त कागजात केवल अमेरिका र यसको “फाइभ आइज“ साझेदारः अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड र संयुक्त राज्यका लागि लक्षित थिए ।

यी कागजातले इरानविरुद्ध सैन्य आक्रमणका लागि इजरायलको स्पष्ट तयारीको रूपरेखा प्रस्तुत गर्दछ । ’नेसनल जियोस्पाटियल–इन्टेलिजेन्स’ विभागबाट प्राप्त एउटा दस्तावेजले यी तयारीको एक हिस्साको रूपमा इजरायलले हतियारबारे विवरण दिएको छ । राष्ट्रिय सुरक्षा विभाग (एनएसए) लाई श्रेय दिइएको अर्को दस्तावेजले आक्रमणको तयारीमा रहेको इजरायली वायु सेनाको अभ्यासलाई समावेश गरेको छ ।

एक अमेरिकी अधिकारीले पेन्टागनको संवेदनशील सामग्रीमा कसलाई पहुँच थियो भन्ने पहिचानमा अनुसन्धान केन्द्रित रहेको सङ्केत गर्नुभयो । यस्तो चुहावटले स्वचालित रूपमा एफबिआई, पेन्टागन र अमेरिकी गुप्तचर विभागद्वारा संयुक्त अनुसन्धानलाई प्रेरित गर्दछ । एफबिआईले यस अवस्थाबारे टिप्पणी गर्न अस्वीकार गरेको सिएनएनले जनाएको छ ।

त्यसैगरी एउटा दस्तावेजले इजरायलले कहिल्यै सार्वजनिक रूपमा पुष्टि नगरेको आणविक हतियारहरूको अस्तित्वबारे वर्णन गरेको छ । तर, उक्त दस्तावेजमा अमेरिकाले इजरायलले इरानविरुद्ध आणविक हतियार प्रयोग गर्ने योजना बनाएको कुनै प्रमाण नदेखेको उल्लेख गरेको छ ।

कागजातहरू कसरी बाहिरियो , तिनीहरू ह्याक गरिएको थियो वा जानाजानी सार्वजनिक गरिएको थियो भन्ने स्पष्ट छैन । अगस्टमा अमेरिकी गुप्तचर विभागहरूले इरानले डोनाल्ड ट्रम्पको अभियानसँग सम्बन्धित कागजातहरू ह्याक गरेको रिपोर्ट गरेसँगै अमेरिकाले इरानी साइबर अभियानहरूबारे उच्च सतर्कतामा अपनाएको सिएनएनले जनाएको छ ।