काठमाडौँ, कात्तिक ४ गते। पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधनप्रति विभिन्न सङ्घ संस्थाले शोक वक्तव्य निकालेर गहिरो दुःख व्यक्त गरेका छन् । नेपाल उद्योग परिसङ्घ र प्यासिफिक एसिया ट्राभल एशोसिएश्न (पाटा ) नेपाल च्याप्टरलगायत संस्थाले स्वर्गीय मिश्रप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना अर्पण गरेका हुन् ।

 साथै उहाँको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरिएको छ ।चार दशकभन्दा बढी समयदेखि नेपालको पर्यटन उद्योगमा सक्रिय मिश्रको निधनले नेपालको पर्यटन उद्योगले एक कर्मठ, निष्ठावान तथा अभिभावक गुमाएको जनाएका छन् । नेपालको पर्यटन उद्योगका विषयमा सबै चिन्ता र चासो राख्ने मिश्रले विदेशी पर्यटक नेपाल भित्र्याउन खेल्नुभएको भूमिका महत्वपूर्ण छ ।

टेम्पल टाइगर गुरुप एण्ड कम्पनीका संस्थापक मिश्र सन् २०१३ देखि सन् २०१६ सम्म परिसङ्घको उपाध्यक्ष हुनुभएको थियो । यस्तै पाटा नेपालको आजीवन सदस्य तथा पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्ष मिश्रको निधनमा संस्थाले शोक वक्तव्य जारी गर्दै मिश्रको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

‘उद्यमी र नेपालको पर्यटन उद्योगको एक प्रमुख व्यक्तित्व मिश्र पाटा र नेपाल पर्यटन बोर्डलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न पर्यटन सङ्घ संस्था र संस्थामा उहाँको उल्लेखनीय योगदान, नेपालको पर्यटन उद्योगको विकासका लागि विभिन्न पद र प्लेटफर्महरुमा उहाँको अटल समर्पण र जीवनभर संलग्नता अमूल्य र प्रसंशनीय छ’ वक्तव्यमा भनिएको छ । पर्यटन व्यवसायी मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा आज निधन भएको थियो ।