गाजा, कात्तिक ४ गते । उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली हमलामा ७३ जनाको मृत्यु भएको दाबी हमासका अधिकारीहरूले गरेका छन् । बेत लाहिया क्षेत्रमा महिला र बालबालिकाको पनि ज्यान गएको हमासका अधिकारीहरूले बताएका छन् ।


अधिकारीहरूका अनुसार शनिबार अबेर राति गराइएको बम विस्फोटमा धेरै मानिस घाइते पनि भएका छन् । अझै धेरै मानिस भग्नावशेषमा फसेको आशङ्का गरिएको छ । यस आक्रमणबारे इजरायलले यससँग सम्बन्धित रिपोर्टको छानबिन गरिरहेको जनाएको छ । साथै इजरायली सेनाले हमासले हताहतीबारे बढाइचढाइपूर्ण बताएको र यो आफ्नो जानकारीसँग नमिल्ने दाबी पनि गरेको छ ।

यसैबीच गाजाका स्वास्थ्य अधिकारीहरूले बेत लाहिया क्षेत्रमा इन्टरनेट र सञ्चार सेवा पूर्ण रूपमा बन्द भएकाले उद्धारमा पनि बाधा पुगेको बताएका छन् । इजरायलले आफ्नो पछिल्लो आक्रमणमा भीडभाड भएको ठाउँलाई निशाना बनाएको हमासको नियन्त्रित सरकारी मिडियाको दाबी छ । इजरायली हमलामा पूरै आवासीय परिसर ध्वस्त भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएको छ ।