तस्वीरमा माटोको भाँडा बनाउँदै ।
सुनसरी, कात्तिक ४ गते ।
इनरुवा नगरपालिका–२ का २५ वर्षीय विनोद पण्डित बिहानै माटो मुछ्न थाल्नुहुन्छ । उहाँ दिनभर भाँडा बनाउने काममा व्यस्त रहनुहुन्छ । तिहार र छठपर्वलाई लक्षित गरेर पण्डितले माटोका भाँडा बनाउन थाल्नुभएको हो ।

पण्डितको उद्देश्य चाडपर्वका बेला सबैलाई माटोका भाँडा सहज रूपमा पुर्याउने रहेको छ । सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकार चाडपर्वलाई लक्षित गरेर माटोको भाँडा बनाउने काममा व्यस्त बनेका छन् । स्थानीय दरपी पण्डितका अनुसार कुम्भकार समुदाय तिहार र छठपर्वलाई लक्षित गरी माटोको घैला, दियो, धुपदानी, कलशलगायतका भाँडाकँुडा बनाउने काममा व्यस्त छ ।

भाँडा बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिदेखि नै उनीहरुले माटोको जाहो गर्ने गरेका छन् । एक महिना अगाडिसम्म विभिन्न सस्याका कारण माटो ल्याउन नसक्दा भाँडा बनाउन ढिला भएकाले अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीय बचिया पण्डितले बताउनुभयो ।

“नजिक माटो पाइँदैन, टाढाबाट प्रतिट्रयाक्टर रु १० हजारदेखि रु २० हजारसम्ममा माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

तिहार र छठपर्वमा दियो, चौमुखे दियो, कलशलगायत सामग्रीको अत्यधिक माग हुने भएकाले त्यसलाई लक्षित गरेर माटोका भाँडा बनाउने काममा लागेको पण्डितको भनाइ छ । चाडपर्वका बेलामा एउटा परिवारले रु एक लाखदेखि रु पाँच लाखसम्म माटोको दियो बनाएर बिक्री गर्ने गरेका छन् । चाडपर्वका बेलामा एउटा परिवारले माटोको भाँडाबाट रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दनी गर्ने गरेको बेचनीदेवी पण्डितले बताउनुभयो । आफूहरूले बनाउने माटोको भाँडा बिक्री गर्न सुनसरी सदरमुकाम इनरुवासहित इटहरी, धरान, धनकुटा, झापालगायत ठाउँसम्म जाने गरेको बेचनीले बताउनुभयो । कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोका भाँडाकुँडा बनाउने रहेको छ । रासस