फाइल तस्वीर
काठमाडौँ, कात्तिक २ गते । काठमाडौँमा हिजोदेखि सुरुभएको साफ महिला च्याम्पियनसिप फुलबल प्रतियोगिता–२०२४ अन्तगर्तको दोस्रो खेल आज नेपालले भुटानको सामना गर्दैछ । नेपालले आफ्नो यस प्रतियोगिताको पहिलो खेलमा भुटानको सामना गर्न लागेको हो ।

हिजो काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरुभएको उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि ५–२ गोलको सहज जित निकाल्दै विजयी सुरुवात गरेको छ । पाँचपटकसम्मको विजेता भारतले सातौं संस्करणमा आइपुग्दा उपाधी रक्षाको दावेदारी प्रस्तु गरेको छ ।
यता नेपाल भने पाँच पटकसम्म फाइनलमा पुगेर पनि उपाधी चुम्म नसकेको पीडा यसपटक मेटाउन चाहन्छ । आजको खेलमा भुुटानलाई हराएर सातौं सस्करणको जारी प्रतियोगितामा विजयी सुरुवात गर्न मैदानमा ओर्लदै छ । त्यसो त नेपालको गोल मेसिनरका रुपमा स्थापित भएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’लाई आजको खेलमा घरेलु दर्शकले देख्न पाउने छ्रैनन् । साम्बाले आइतबारदेखि मात्रै आफ्नो टिममा प्रवेश गर्नेछिन् ।

भुटानविरुद्ध लगातार गोल गर्दै आएकी साम्बा फ्रेन्च महिला लिगमा व्यस्त रहेकोले उनले पहिलो खेल गुमाउने भएकी हुन् । यसअघि साफ च्याम्पियनसिपमा भुटानसँग खेलेको हरेक खेलमा सावित्राले गोल गरेकी थिइन् । नेपालका लागि ४६ खेलमा सर्वाधिक ५३ गोलकर्ता हुन् साम्बा । आजको खेलमा साम्बाको अनुपस्थिति घरेलु दर्शकका लागि केही खल्लो हुन सक्छ ।

तुलनात्मक रुपमा नेपालभन्दा कमजोर मानिएको भुटानलाई कम आङ्कलन गर्न भने मिल्दैन । किनकी पछिल्लो समय भुटानले महिला पुरुष दुवैतर्फको फुटबलमा उल्लेखनीय प्रगति गर्दै आएको छ ।

युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स च्याम्पियन्स लिग खेलेर आएकी रेखा पौडेल र रश्मि कुमारी घिसिङले नेपालको फरवार्ड लाइन सम्हाल्ने छन् । विदेशमा व्यवसायिक फुलबल खेलिरहेका पौडेल र घिसिङले आफ्नो खेल कौशलता देखाउने सुन्दर अवसर पनि जुरेको छ ।

नेपालले यसअघि भएका छ वटा संस्करणमध्ये खेलेको चारवटा संस्करणमा भुटानलाई हराएको थियो । पाँच पटकसम्मको उपविजेता नेपाल उपाधिको लागि दावेदार टिम पनि हो । नेपाल र भुटानबीचको अहिलेसम्मको खेलमा भुटानले नेपालविरुद्ध गोल गर्न सकेको छैन । नेपालले अहिलेसम्म भुटानविरुद्ध २३ गोल गरेको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र कप्तान एञ्जिला तुम्बापो सुब्बाले यस पटक उपाधि जित्ने लक्ष्यका साथ खेल्न आफ्नो टिम तयार रहेको बताएका छन् । खेल हो भन्न त सकिंदैन, तर पनि साफ महिला च्याम्पियनशिपको जारी सातौं सस्करणमा पनि नेपाल र भारत नै फानलमा आमने सामने हुने खेलविश्लेषकहरुको दावी छ । विदेशी क्लबहरुमा आफ्नो खेल कौशलताको प्रभावकारी प्रदर्शन गर्दै आएका तीन मुख्य खेलाडी सावित्रा भण्डारी, रेखा पौडेल र रश्मि कुमारी घिसिङले जारी प्रतियोगितामा नेपाललाई उपाधि दिलाउन समक्ष हुने देखिन्छन् ।

त्यसोत एक वर्षदेखि भुटानी टिमको खेललाई निखार बनाउँदै आएकी अष्ट्रेलियन प्रशिक्षक निकोला डेमाइनले गत नौ महिनादेखि आफ्ना खेलाडीहरुलाई साफ केन्द्रीत प्रशिक्षण दिंदै आएकी छन् । पछिल्लो पटक सन् २०२२ मा काठमाडौंमै भएको साफमा भुटानले पहिलो पटक सेमिफाइनल पुगेर इतिहास रचेको थियो । भुटानले त्यही प्रदर्शनलाई दोहो¥याउने लक्ष्य लिएर मैदानमा उत्रिंदैछ । नेपालले आजको खेलमा भुटानलाई निमसरो सोच्नु मुर्खता हुनेछ । भुटानले आफुलाई धेरै सुधार गरिरहेको छ ।

जारी प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् । समूह ‘बी’को पहिलो खेल १ बजे माल्दिभ्स र श्रीलङ्काबीच हुनेछ भने दोस्रो खेल नेपाल र भुटानकाबीच अपरान्ह साढे ५ बजेदेखि हुनेछ । यी दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् ।