फाइल तस्वीर
सुनसरी, कात्तिक २ गते ।
कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । कोशी प्रदेशमा मात्रै घटस्थापनादेखि असोज २९ गतेसम्मको अवधिमा सवारी दुर्घटनामा परी १३ जना पुरुष र एक जना महिलाको मृत्युभएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दशैँको अवधिमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जनाएको छ ।

सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार दशैँको अवधिमा दुर्घटनामा सबैभन्दा बढी मोरङमा र सबैभन्दा कम धनकुटा र खोटाङमा मृत्यु भएको छ ।

प्रहरी उपरीक्षक घिमिरेका अनुसार मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छभने १६ जना घाइते भएका छन् । सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने सात जना घाइते भएका छन् ।

यसैगरी झापामा ७२ वटा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने धनकुटा र खोटाङमा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी साधनमाथि कारवाही गरिएको छ । कारावाहीमा परेका सवारी साधनहरुबाट ५१ लाख ९५ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा दशैँका बेलामा छ दिनमा एक सय ३५ वटा सवारी दुर्घटना भएको थियो ।