फाइल तस्वीर
सुनसरी, असोज २९ गते ।
सुनसरी इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक वर्षमा १३ हजारभन्दा बढी आँखाका बिरामीलाई निःशुल्क परीक्षण गरेको छ । अस्पतालले तराईका विभिन्न जिल्ला र पूर्वी पहाडी जिल्लाका न्यून आय भएका आँखाका बिरामीलाई निःशुल्क उपचार गरेको अस्पतालका अध्यक्ष डा विजय गौतमले जानकारी दिनुभयो । अस्पतालले कोसी प्रदेशका सुनसरी, मोरङ, उदयपुर, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटा र मधेस प्रदेशका सप्तरीमा शिविरको आयोजना गरेर निःशुल्क आँखाका रोगीको निःशुल्क उपचार गरेको उहाँले बताउनुभयो ।

अस्पतालले विभिन्न ठाउँमा आयोजना गरेको शिविरमा न्यून आय भएका र वृद्धवृद्धा भएका १३ हजार पाँच सय ४१ जना बिरामीको निःशुल्क आँखा परीक्षण गरिएको डा गौतमले बताउनुभयो । अस्पतालले आर्थिक वर्ष २०७९÷८० मा एक सय ६३ ठाउँमा आयोजना गरेको शिविरमा आएका वृद्धवृद्धा र न्यून आय भएका बिरामीको उपचार गरेको उहाँले जानकारी दिनुभयो ।  

शिविरमा मोतियाबिन्दु देखिएका चार सय ३७ जनाको निःशुल्क शल्यक्रियासमेत गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालले सोही अवधिमा कोसी प्रदेशका ५० विद्यालयमा  निःशुल्क आँखा परीक्षण गरेको उहाँको भनाइ छ ।  

सोही अवधिमा विभिन्न विद्यालयमा गरिएको परीक्षणका क्रममा आठ सय १७ जना विद्यार्थीको आँखामा समस्या देखिएकाले उपचार गरिएको दृष्टि विज्ञ राकेश थापाले बताउनुभयो । अस्पतालले विभिन्न स्थानमा निःशुल्क शिविरको आयोजना गर्दै आएको छ । आँखाको समस्यालाई अन्त्य गर्न आँखाको निःशुल्क उपचार गरेको उहाँले जानकारी दिनुभयो ।