चितवन, असोज २७ गते । केही समयअघि मुलुकमा भएको बाढी र डुवानबाट चितवनको माडी क्षेत्रमा धानबाली, माछापालन, सडक, कल्भर्ट र नहरका बाँधमा ठूलो नोक्सानी भएको छ । स्थानीय घाँघर खोलामा आएको बाढी पसेर सयौं बिघामा पाक्न लागेका धानबाली नष्ट गरेको छ भने कल्भर्ट र नहरका बाँध भत्किएर गाँउबस्ती डुवान मात्र नभई आवत–जावत गर्ने सडकमा पनि क्षति पुर्‍याएको छ ।

माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो भन्नुहुन्छ, “मानवीय क्षति नभएपनि बाढीले धानबाली र माछापालनमा ठूलो क्षति पुर्‍याएको छ, कुलो र नहरका बाँध तथा कल्भर्ट भत्किएका छन् ।” खोलामा निर्माण गरिएको बाँध भत्किएर हजारौं विघाका जमिनमा पोखरी खनेर पालिएका माछा बगाएको र काट्ने बेलाको धानबालीमा बाढी पसेर नष्ट बनाएको उहाँको भनाइ छ ।

नगरप्रमुख महतोसँग राससका प्रतिनिधिले बाढी र डुवानबाट धानबाली, माछापालन, तटबन्ध, सडक र कल्भर्टमा भएको क्षति तथा पुननिर्माणका प्राथमिकताबारे गरेको कुराकानीको सम्पादित अशंः प्रमुख महतो पछिल्लो बाढी र डुबानका घटनाबाट यस क्षेत्रका सयौं विघा खेतीयोग्य उब्जाउ जमिन खोलाले कटान गरेको छ । भित्रयाउन ठिक्क बेला भएको धानबाली र बिक्रीका लागि तयारी भइरहेको माछापालनमा ठूलो नोक्सान भयो । गाँउबस्ती डुवानमा परेर तहस–नहस भयो । सहजरुपमा सडक यातायात आवागमनमा अझै असज छ । बाढीले तटबन्धमा क्षति पुर्‍याएको छ । कुलो र नहरका बाँध भत्किएका छन् ।

बाढी र डुवान घटेपछि नगरपालिकासँग भएका डोजर र स्काभेटरसहितका उपकरण प्रयोगलाई प्राथमिकता निर्धारणको कार्ययोजना बनाई सडकमा दसैँ का बेला कम्तीमा पनि दमकल, एम्बुलेन्स र पाहुनालाई घरसम्म पुग्न सक्ने गरी सडक तयार गरियो । तथापी, यस क्षेत्रमा रहेका ठूला खोलामा क्षति भएका पुललगायतका संरचनामा स्थानीय तहको बजेट प्रयोग गरी तत्काल निर्माण गर्न सक्ने सम्भावना भएन । त्यसका लागि सङ्घ र प्रदेशको सहयोग चाहिन्छ । केही दिनका भगिरथ प्रयासपछि अहिले सामान्यतया सडक यातायात आवत–जावत गर्न सकिने अवस्था सिर्जना गरिएको छ ।

बाढी र डुबानका घटना लगत्तै दसैँ आएकाले टोल छिमेकिलाई प्रभावित परिवारलाई सहयोग तथा सरसापट, अइँचो–पइँचो गरेर दसैँ मनाउने व्यवस्थाका लागि अनुरोध गरिएको छ । चाडबाडलाई भड्किलो र खर्चिलो नबनाउने अनुरोध गरेका छौँ । अहिले सरसापट गरेर दसैँ मनाउँला, धान भित्र्याएपछि ऋण तिरौंला भनेर बसेका किसानका सपनालाई बाढीले तुषारापत बनाइ दिएको छ । खेत खण्डहरमा परिणत भएको छ भने माछा बेचेर दसैँ मनाउने सोच बनाएका किसान पोखरीमा बाढी पसेपछि विचल्लीमा परेका हुन् । यस क्षेत्रका एउटा किसान परिवारको कम्तीम रु ५० हजारदेखि १० लाखसम्म किसान क्षति भएको छ ।

माडी धान र माछा उत्पादनमा मुलुकमै कहलिएको क्षेत्र हो । खासगरी स्थानीय घाँघर खोलाले ठूलो क्षति पु¥यायो भने रिउलगायतका चुरेबाट निष्कने स–सना खोला र खहरेले पनि उत्तिकै नोक्सानी पु¥याएको छ । खेतमा अहिले ढुङगा र बालुवा थुप्रिएकोछ । नगरपालिकाले क्षतिको विवरण सङ्कलन गरिरहेको छ । केही प्रभावित परिवारलाई सङ्घ संस्थाको सहयोगमा केही राहत वितरण गरिएको छ । विपद्का बेला आफूले मात्रै होइन, दसैँ मनाउन छिमेकीलाई पनि सरसहयोग गरौँ भनेर नगरपालिकाले सबैलाई आह्वान गरेको छ । उहाँहरुले पनि अप्ठ्यारो र गाह्रो परेकालाई सहयोग गरिरहनुभएको छ ।