तस्वीरमा दशैँ टीका ग्रहण गर्दै विदेशी पर्यटक ।
तनहुँ, असोज २७ गते । तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दशैैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दशैैँको टीका लगाउन पाउँदा दङ्गसँगै खुसी भएका थिए ।

बन्दीपुरस्थित होटल हिमालय दरबारमा बसेका उनीहरुलाई होटल सञ्चालकले टीका र जमरा लगाइदिएका थिए । होटलका सञ्चालक वैश गुरुङले दशैैँको टीका र जमरा लगाएपछि पर्यटकले खुसी व्यक्त गर्दै यस चाडको बारेमा सोधपुछ गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालीको रीतिरिवाज र कलासंस्कृतिबारे विदेशी पर्यटक उत्सुक भएको पायौ । दशैैँको बारेमा सोधपुछ गरेपछि हामीले यस पर्वको बारेमा जानकारी गरायौ ।”

केही दिनदेखि बन्दीपुर भ्रमणमा रहेका विदेशी पर्यटकलाई दशैैँ टीका लगाएर बिदाइ गरेको उहाँको भनाई छ । दसैँ सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अब बन्दीपुरमा पर्यटकको चहलपहल हुने समय हो । विदेशी पर्यटकको आगमन बढ्दो अवस्थामा छ ।”