प्रतिकात्मक तस्वीर
क्वेटा, पाकिस्तान, असोज २५ गते ।
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले रातभरि गरेको आक्रमणमा २० जना कामदारको गोली हानी हत्या भएको प्रहरीले शुक्रबार जनाएको छ । बलुचिस्तानमा पृथकतावादी लडाकु समूहहरूले नियमित रूपमा प्राकृतिक स्रोत निकासी परियोजनाहरूलाई निशाना बनाउदै आएको छ । यो पाकिस्तानको सबैभन्दा गरीब प्रान्त हो ।


आक्रमण भएको डुकी जिल्लाका प्रहरी प्रमुख असिम शफीले भन्नुभयो,“राति ४० जना आक्रमणकारीहरूले राति स्थानिय समय १२:३० बज आधा घण्टासम्म खानीमा गोली चलाएका थिए ।”


जिल्लाका एक वरिष्ठ सरकारी अधिकारी कलीमुल्लाह काकरले सात जना घाइते भएको बताउनुभयो । “आक्रमणकारीहरूले घटनास्थलमा रहेको मेसिनरीमा पनि आगो लगाए,” उहाँले थप्नुभयो । बलुचिस्तानमा धेरै निकासी योजनाहरू विदेशी देशहरू द्वारा संचालित छन्, उक्त योजनाहरूमा सशस्त्र समूहहरूले आक्रमण गर्दै आएको छ ।


उग्रवादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले आइतबार राति दक्षिणी कराँचीमा एउटा सवारी साधनको काफिलेमा भएको बम आक्रमणमा दुई चिनियाँ कोइला कारखानाका कामदारको मृत्यु भएको दाबी गरेको छ । आतङ्ककारीहरूले बलुचिस्तानमा नियमित रूपमा पाकिस्तानका अन्य ठाउँबाट आएका आप्रवासी कामदारहरूलाई निशाना बनाउँछन् ।

शुक्रबारको आक्रमण चीन र रुसले स्थापना गरेको क्षेत्रीय समूह शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनका सरकार प्रमुखहरूको शिखर सम्मेलनको आयोजना गर्ने केही दिनअघि पाकिस्तानमा भएको हो । एजेन्सी