फाइल तस्वीर
खोटाङ, असोज २४ गते । यही असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे पुलको मर्मतलाई तीव्रता दिइएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडकखण्डको सुनकोसीस्थित फोक्सिङ्टारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा आवतजावत गर्ने वातावरण मिलाउन जिल्लाका क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत थालिएकोे हो ।

खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित बङ्शिलाघाट, धाप्लाङघाट र भण्डारे घाटमा जडान गरेर सञ्चालन गरिएको झोलुङ्गे पुलमा बाढीले क्षति गरेको थियो । दसैँको टीकाअघि सुनकोसीस्थित तीनवटै घाटको झोलुङ्गे पुल पुनःसञ्चालनमा ल्याउनेगरी मर्मत कार्यलाई तीव्रता दिइएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।  

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे र उदयपुरको रौतामाई गाउँपालिका–३ चनौटेस्थित सुनकोसी नदीको भण्डारेघाटको झोलुङ्गे पुल पनि मर्मत गरेर पुनःसञ्चालनमा ल्याइसकिएको जनाइएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले रु एक लाख ४५ हजार रकम उपलब्ध गराएपछि तारजाली तथा आवश्यकपर्ने सामग्री खरिद गरेर क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत गरिएको हो । 

तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीमा पर्ने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित मोटरेबल पक्की पुलको विकल्पमा भण्डारेघाटको झोलुङ्गे पुल मर्मत गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो । “हाम्रो दैनिकीसँग जोडिएको फोक्सिङ्टार पुल बाढीले बगाएपछि तराईसँगको सिधा सम्पर्क विच्छेद भएको छ । यो जिल्लावासीका निम्तिसमेत ठूलो क्षति हो”, उहाँले भन्नुभयो, “फोक्सिङ्टार पुलका कारण निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तु ढुवानीका निम्ति ठूलो असर पुगेको छ । यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”

सगरमाथा राष्ट्रि«य राजमार्गअन्तर्गत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको सुनकोसीस्थित फोक्सिङ्टारको पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले बगाएपछि पूर्वी तराईसँगको सिधा सम्पर्कविच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्कविच्छेद भएको हो ।

उता, मोटरेबल पक्की पुलको योजन सुरु भएको धाप्लाङघाटमा ठेकेदारको लापरबाहीले पक्की निर्माण नहुँदा झोलुङ्गे पुल प्रयोग गर्नुपर्ने बाध्यता छ । विसं २०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शिलान्यास गर्नुभएको धाप्लाङघाटको मोटरेबल पुल अहिलेसम्म अलपत्र अवस्थामा छ । 

निर्माण लिएको पुलको पिलर नदीको पानीले जग कटान गर्दै गएपछि बाङ्शिलाको छ । विसं २०७६ मै बनिसक्नुपर्ने मोटरेबल पुलको दुवैतर्फ पिलरमात्र ठड्याइएको थियो । 

निर्माणाधीन मोटरेबल पक्की पुलको काम अलपत्र भएपछि खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाटको झोलुङ्गे पुलको मर्मत गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिनुभयो । “बाढीले पुलको लठ्ठा चुँडिनुका साथै ठाउँठाउँमा भ्वाङ परेर आवजावत गर्नै नमिल्ने गरी क्षति पुगेको थियो । गाउँपालिकाले तारजाली उपलब्ध गरायौँ”, उहाँले भन्नुभयो, “स्थानीयवासीले मर्मत गरेर पुनःसञ्चालनमा ल्याएका छन् । अहिले मोटरबाइकसमेत आवतजावत गराउन मिल्ने भएको छ ।”

जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने सुनकोसी नदीकै मैनाटार, ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट र खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाटको झोलुङ्गे पुलहरु मर्मत कार्य भइरहेका छन् । मर्मत कार्य भइरहेका तीनवटै ठाउँका झोलुङ्गे पुल दसैँको टीकाभन्दा अगाडि नै सञ्चालनमा ल्याउनेगरी तीव्रता दिइएको जनाइएको छ । 

चाडपर्वको पूर्वसन्ध्यामा आएको अविरल वर्षापछिको बाढी तथा पहिरोका कारण अवरुद्ध बनेका जिल्लाका अधिकांश ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन् । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवा भञ्ज्याङ सडकखण्ड भने पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ । 

सडक अवरुद्ध भएपछि यात्रामा रहेका यात्रुबीच सडकमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउन मध्यपहाडी लोकमार्ग तथा सम्बन्धित स्थानीय तहले मेसिन प्रयोग गरिएका छन् ।