काठमाडौँ, असोज २३ गते । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ ? प्रश्न भूँइमा खस्न नपाउँदै उहाँले भन्नुभयो, “मेरो पेसा र लेखनको पाटो फरक छ । मलाई बिरामीको उपचार गर्दा र उनीहरु खुसीमा सुख मिल्छ ।”
गीत, कविता, सिर्जना एवम् कला विधामा रमाउँदै हुर्केको बताउनुहुने अर्जुनबाबु दाहालको हालै ‘हिँड्न बाँकी बाटाहरु’ नामक कविता सङ्ग्रह सार्वजनिक भएको छ ।
आयुर्वेदिक चिकित्साका क्षेत्रमा सुपरिचित दाहालका गीत विभिन्न गायक गायिकाको स्वरमा रेकर्ड भएका छन् । उहाँले कोरोना कालमा परम्परागत नेपाली पद्धतीबाट बिरामीको उपचार गर्नुभएको थियो ।
हाल हिँडिसकेको बाटोको समीक्षा गर्दै हिँड्न बाँकी बाटोबारे उहाँले कविताका माध्यमबाट प्रकट गर्नुभएको छ । निराशा फैलिइरहेको वर्तमानमा आशाको सञ्चार गर्ने उहाँको कविता खदिँला र रसिला छन् । विगत, वर्तमान र आगतलाई उहाँले आफूभित्रको कवि मनलाई कवितामा पोख्नु भएको छ ।
उज्यालो खोज्दै गाउँबाट सहर पस्नेहरुको मनोद्वन्द्व र सङ्घर्ष हिजोदेखि आजसम्म उस्तै उस्तै छ । एक दशकअघि सङ्खुवासभाबाट उज्यालो भविष्य खोज्दै सहर पस्नुभएका दाहालले कवितामार्फ सुन्दर भविष्यको कामना समेत गर्नुभएको छ ।
उहाँको यस कविता सङ्ग्रहमा ५६ वटा कविता छन् । कवितामा २०७२ वैशाखको भूकम्पको स्मरण गर्दै उहाँले लेख्नुभएको छ...
भूकम्पले महलहरु
गल्र्यामगुर्लुम्म ढलेर
चरमै खाना खाना खान्छु भन्दा पनि
सडकमै सुत्छु भन्दा पनि
केही नचलेपछि जाने ठाँउ
आहा ! कति महान् गाउँ !
गाउँ बिर्सेर सहर पसेकाहरु दुःख पर्दा विवाह गरेर घर गएकी छोरी माइती सम्झेर आए जस्तै धेरैका लागि आफ्नै जन्मस्थल, आफ्नै गाउँ प्रिय रहेको विषयलाई उहाँले कवितामार्फत प्रस्तुत गर्नुभएको छ । कोरोनाकाल, भूकम्पको त्रासदी, सहरले उधारो नपत्याएपछि, सहरका गल्लीहरु बिरानो लागेपछि एक मात्रै जाने ठाउँ गाउँ भएको आम मानिसको मनोदशालाई उहाँले कवितामा उन्ने प्रयास गर्नुभएको ।
रोजगारीको खोजीमा खाडी भासिने आम युवाको मनोदशा कवितामा प्रतिबिम्ति छन् । पासपोर्ट बनाउन कुदेको युवाको सपना, निधारमा अबिर, गलामा खादा र हातमा सुटकेश बोकेर नौजवान विदेशिँदा खाली रहेको खेत कस्ले खनिदेला ? बिरामी बालाई औषधि कस्ले खुवाउँला ? गाई भैसी कस्ले पाल्ला भनेर ? प्रश्न समेत गर्नुभएको छ ।
कवि दाहालले विभिन्न बिम्बमार्फत समाजमा रहेको बेथिती, अन्याय, अत्याचारविरुद्ध विद्रोह बोल्ने प्रयास गर्नुभएको छ । उहाँले समय नै आम मानिसको गुरु हो । वर्तमान सुन्दर भए पनि त्यो सँधै सुन्दर नरहन सक्छ भनेर सचेत पनि गराउनु भएको छ ।
‘जीवन र लक्ष्यमार्ग’ शीर्षकको कवितामा उहाँले विगत र वर्तमानको चेतलाई उधिन्ने प्रयास गर्दै सुरक्षित गन्तव्य भेट्नका लागि सुध्रिएर आफ्नो लक्ष्य निर्धारण गर्न सबैलाई आग्रह गर्नुभएको छ । मौलाउँदो बेथिती र भ्रष्टाचारकाविरुद्ध सशक्त प्रतिवाद गर्नुभएका कविमन दाहाल आफ्ना कवितामा यसरी प्रस्तुत हुनु भएको छ...
प्रश्नै प्रश्नले घेरिएपछि
उत्तर के हुन्छ ?
इमान्दार भएर जीवन चलाउँदा
अपराध गरेको देख्ने समाज कस्तो हो ?
अविरल बर्षाका कारण देश पीडामा छ । हजारौ मानिस घरबारबिहीन भएका छन् । धेरैको थातथलो गुमेको छ । यो विषय समेत उहाँको कवितामा उल्लेख छ ।
पहिरोमा को पुग्छ ?
खडेरीमा को पुग्छ ?
पाखाभरी फूलेर फूलजस्तै
यो गाउँ हराभरा बनाउन को पुग्छ ?
कवि दाहालले देश बनाउने नायक खोज्नु भएको छ कवितामा । सीका पुजारी र उन्नतीको आशा जगाउने नायक पनि खोज्नुभएको छ । खासमा उहाँले एउटा जाँगर र आँट भएको देशभक्त खोज्नु भएको छ ।
दिनपछि रात आउँछ । राम्रोसँगै नराम्रो पनि हुन्छ । यी त एउटा सिक्काका दुई वटा पाटा हुन् भन्ने भावमा उहाँले सबै खराब हुँदैनन् । फोहोरमा राजनीति मात्रै छैन, मोहोर पनि भएको चेतना बाँड्नु भएको छ । अनुशासन र इमानको आलोकमा अघि बढे मान्छे खराब हुन सक्दैन भन्ने सन्देश दिनुभएका दाहालले कवितामा इतिहास खराब थिएन, वर्तमान पनि खराब छैन र भविष्य झनै खराब हुन नसक्ने भन्दै आशाको सञ्चार गराउन खोज्नु भएको छ ।
‘अभिनयमा जीवन’ ‘जिन्दगी र खुकुरीको धार’, ‘नमस्कार’ शीर्षकका कविता छोटा छन् । उहाँले युद्धमा गएका वीरहरुको त्याग, बलिदान र साहसलाई सलाम गर्दै ‘अन्धकारको प्रश्न’ शीर्षकको कवितामा लेख्नुभएको छ ।
भाग्न नसक्नुको अर्को पाटो
युद्ध रहेछ
वीरहरु युद्धमा गए
आज प्रत्यके उज्यालोमा
तिनकै अनुहार देखिरहेछु ।
दाहालले दुःखमा नआत्तिन र सुखमा नमात्तिन पनि आफ्ना कवितामार्फत आग्रह गर्नुभएको छ । पृथ्वी गोलो भएकाले घुम्ने भएजस्तै दिनपछि रात आउने र दुःपछि सुख आउनु स्वतः प्राकृतिक विषय भएकाले हरेक क्षणमा आशावादी बनेर अगाडि बढनुपर्नेमा जोड दिनुभएको छ । नहराएको याद, समय मागेर समयसँग, यस्तो के सोचिरहेछु ?, मत एक टपरे शीर्षकको कवितामा व्यङ्गचेतको भरपूर प्रयोग गरिएको छ ।
अक्षय तृतीयामा सातु सर्वत खाएको कुरा, माघे संक्रान्तिमा तरुल, जनैपूर्णिमा क्वाटी, तुलसी र पिपल जस्ता बिम्बमार्फत हराउँदै गएको नेपाली परम्परा र संस्कृतिको खोजी वर्तमानको पुस्ताले गरेर भावि सन्न्तीलाई पनि जोगाइदिनुपर्ने धारणा राख्नुभएको छ । यस्तै, साथी, हामी छाँै वारिपारि, भ¥याङको पखाईमा भ¥याङ, ऐनामा कर्मफल, सोचाइका लश्करहरु शीर्षकका कविता यर्थाथवादी लाग्छन् ।
माया खोला, तुम्लिङटार, एकादशी बजार, हाङलुङ, चैनपुर जस्ता सङ्खुवासभाको गाउँ बस्ती समेत स्मरण गर्नुभएका कवि दाहालले गुराँसेडाँडा, रनगढी, पिलुवा खोला, तीनजुरेलाई पनि उत्तिकै माया गर्नुभएको छ ।
म मान्छे बन्न सकिन, समयको खोला, दोमन, समयको सन्तुलन शीर्षकको कविताको कर्मको बाटो हिँड्ने सङ्कल्प भेट्न सकिन्छ । सहरका मान्छेमा नभएको मुस्कान केवल बनावटी रहेको तर्क गर्दै कवि दाहाल उज्यालोको आकार ग्रहण गर्न पनि समय आउनुपर्ने बताउनुहुन्छ ।
उहाँले दुश्मनलाई पनि प्रियको सम्बोधन गर्नुभएको छ । जीवनको फूल, आफैलाई बधाई, किन आँसु झर्दैन, चेतन मन अवचेतन मन, प्रश्नै प्रश्नले घेरिएको प्रश्न शीर्षकका कवितामा उहाँले सामाजिक बेथितीमाथि प्रहार गर्नुभएको छ ।
उहाँ शहर र मान्छे शीर्षकको कवितामा लेख्नुहुन्छ…
यो पैसावालाहरुको शहर हो
यो बेच्न मात्रै जान्नुपर्छ
सबैथोक बिक्री हुन्छ
जस्तो ः
इमान, जमान, रुप, वैश आदि ।
कविता सङ्ग्रहको भूमिकामा कवि एवम् गीतकार डा नवराज लम्सालले लेख्नुभएको छ, “सहर पस्दा उनीसँग केही थान गीत र कविता बाहेक केही थिएनन् सायद । सहरमा उनी दुःख र सुखको दोसाँधमा उभिएर अनुभूति र सुस्केरा सङ्गालिइरहेका छन् सिर्जनाहरुमा ।”
उपचार गरेर अरुलाई निको पार्ने कवि अर्जुन आफू बिरामी हुँदा कविता लेखेर सञ्चो भएको सन्दर्भलाई डा लम्सालले भूमिकामा लेख्नुभएको छ । “गाउँ, समाज र देशका तन्नेरीहरुको सुकुमार सपनामाथि उभिएर गन्तव्य नियालरिहेका उनलाई लागेको छ – साँच्चै उज्यालो भेट्ने हो भने अझै छन् हिड्न बाँकी बाटाहरु ।”
अम्बर पब्लिकेशन हाउस नयाँ दिल्ली र वितरक माया पब्लिकेशन रहेको सो कविता सङ्ग्रहमा कवि दाहालले आफ्नो मन्तव्यमा लेख्नुभएको छ, “मलाई ठूलो कवि हुँला, बनँुला भन्ने छैन । कविताको मूलधारमै हेलिएर केही नयाँ गरुला भन्ने त्यति ठूलो महत्वकांक्षा पनि छैन । मनमा लागेको कुरा अभिव्यक्त गरेँ । आफै पोखिएँ र यो कवितासङ्ग्रह तयार भयो ।”