खोटाङ, असोज २१ गते । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि पहिरोबाट विस्थापित भएको छ । उहाँको परिवार हाल नजिकैको चर्चमा बसिरहेको छ । यही असोज–१२ गतेको पहिरोले घर बगाएपछि विस्थापित उहाँको परिवारलाई स्थानीय बासिन्दा तथा प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो ।

अविरल वर्षासँगैको पहिरोबाट विस्थापित उहाँको परिवारलाई तत्काल खाने बस्ने व्यवस्था नगरपालिका र वडा कार्यालयले गरेको छ । घरमाथिबाट खसेको पहिरोले ढुङ्गामाटोको तीन तले घरसँगै घरमा भएका सबै सामग्री बगाएपछि चार छोराछोरीसहित छ जनाको परिवार पूर्णरुपमा विस्थापित भएको हो ।

असोज–१२ गतेको पहिरोले उहाँको जस्तै जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने ३३ परिवार घरबारविहीन भएका छन् । बाढीपहिरोबाट विस्थापित उनीहरुलाई सम्बन्धित स्थानीय तहले तत्कालका लागि राहत त उपलब्ध गराएको छ तर सधैँ उपलब्ध गराउन सक्ने अवस्था छैन । 

बाढीपहिरो पीडित परिवारका लागि यसवर्षको चाडपर्व खल्लो भएको छ । उनीहरुका लागि सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको खाद्यान्न तथा बन्दोबस्तीका सामग्री उपभोग गरिसकेपछि के खाने, के लाउने भन्ने टुङ्गो छैन । 

बाढीपहिरोले जिल्लामा ठूलो क्षति पु–याएको जिल्ला विपद् व्यवस्थापन समिति खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्व लक्षित गरी अवरुद्ध सडकहरु पुनःसञ्चालनमा ल्याउन पहल गरिरहेका छौँ । तर, दसैँअघि सञ्चालनमा आउने सम्भवना कम देखिन्छ । यद्यपि, सम्बन्धित निकायलाई खबरदरी गरिरहेका छौँ ।” 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका राजकुमार राईका चार छोरा र दुई छोरी छन् । जेठा छोरा गाईघाट, जेठी छोरी धरान तथा माहिला, कान्छा छोरा र कान्छी छोरी काठमाडौँ बस्छन् । साहिला वैदेशिक रोजगारीमा छन् । उनीहरुमध्ये कान्छोले मात्रै दशैँमा बुबाआमाको हातबाट टीका थाप्न पाउने हुनुभएको छ । कान्छो छोरो प्रदीप असोज–१२ गते अघि नै घर आउनुभएको थियो ।  

सडक तथा पुल बगाएपछि छोराछोरीहरु यस वर्ष चाड मान्न घर आउन नपाएको दीपेन्द्रले बताउनुभयो । बाढीपहिरोबाट जिल्लामा सञ्चालित विकासे योजनाबाहेक मानिसका घरमा भएको क्षति मात्र रु एक करोडभन्दा बढी मूल्य बराबरको भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । 

चाडको समयमा आएको यो वर्षको बाढीपहिरोले जिल्लामा व्यापार÷व्यवसायमा असर परेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभयो । “चाडपर्वको अवसरमा करोडौँको व्यापार हुनुपर्ने हो । धेरै मानिस बाटोको कारण आउनै सकेनन् । अधिकांश युवापुस्ता बाहिरी जिल्लामा बसोबास गर्छन् । घरमा बुढापाकामात्र छन्”, उहाँले भन्नुभयो, “सहर गएका छोराछोरी आउन नपाएपछि बुढापाकामा चाडपर्वको उमङ्ग छैन । छोराछोरी घर आउन नपाएपछि बुढापाकाले केका लागि सामान खरिद गरोस् र हाम्रो व्यापार होस् ।” 

बाढीले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पक्की पुल तथा खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुल बगाएको छ । 

वर्षाका कारण अवरुद्ध जिल्लाका सबै ग्रामीण सडक अझै सञ्चालनमा ल्याउन सकिएको छैन । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवा भञ्ज्याङ सडकखण्ड भने पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।