शरद् ऋृतुमा आएको एकाएकको अविरल भेलले राष्ट्रका गहना फुटबल सिक्दै गरेका बालखेलाडीहरुको ज्यान लियो, परिवारको खुशी खोज्नकै लागि दसैंको मुखमा वैदेशिक रोजगारमा विदेश पलायन हुनकै लागि सङ्घीय राजधानी काठमाडौं छिर्दै गरेका युवाको पाखुरी बिलायो । एउटै कोखमा हुर्केका जुम्लयाहा दाजुबहिनीलाई आमाको काखैमा पुरिदियो । यतिमात्रै कहाँ हो र ! वर्षभरि हाड नङ्ग्रा खियाएर पसिना बेचेर दुई छाक मिठोचोखो खान भनी दसैं पर्खेकाहरुमात्रै होइन, टिनको टहरामा बसेर मागेको हार–गुहारसमेत सुनेन कठोर भेलले । वर्षभरि पेट भर्छु भनेर आकासिँदै गरेको लहलह झुलेका धानखेतसम्म पनि बाकीँ राखेन । कतिको जीवन बगायो, कतिलाई टुहुरो बनायो, कतिको अपुताली भयो । कतिको सौभाग्य खोस्योे ।
दसैंमा लाखौंको पाइला थाम्न छाती फुलाएर बसेका निर्दोष सडकहरु बगाएर क्षतविक्षत् भए । महिनौं बम, बन्दुक, गोलाबारीसहित भएको युक्रेन–रुस युद्धका योद्धा रणमैदानबाट बचेर घरपरिवार, बुबाआमासँग खुसी साट्न भनी गाउँ फर्किदै गर्दा गत साताको पहिरोले ज्यानै लग्यो । विपद्जन्य दुर्घटनाले समय हेर्दो रहेनछ । भर्खरै लहलह बढ्दै गरेका ती कलिला तामाका मुनालाई बाढीले नभाँच्नुपर्ने, राम्रो घर बनाउने सपनासमेत देख्न नसक्ने गरिबकै टहरो नबगाउनुपर्ने । जीवन सहज र सोचेजस्तो हुँदो रहेनछ । ठुला ठुला युद्ध जितेका विजेताहरूलाई पनि जीवनका यस्ता साना परिघटनाले समाप्त पार्दो रहेछ ।
दसैं जस्तो महान चाडवाडको समयमा प्राकृतिक प्रकोपको वितण्डताका बीचमा पनि नेपालीहरुले यो पर्व मनाउँदैछन् । राष्ट्र नै दुःखमा रहेको बेला यसपालिको दसैं अपेक्षाकृत रमाइलो त नहोला, तर पनि सबैको घर आँगनमा दसैंले प्रवेश गरिसकेको छ ।
शरद् ऋतुको आगमनसँगै यतिबेला एकातिर दसैंको माहोलले छोपिसकेको छ भने अर्कातिर प्रकृतिको रौद्र रूपको त्रास अझै हटिसकेको छैन । त्रासकै बीच पनि राष्ट्रिय पर्व दसैंलाई कसरी मनाउने भन्ने चिन्तामा सयौं नेपालीहरु भौतारिरहेका छन् । बाढी, पहिरो, भूकम्पका बीच पनि पर्वको मौलिकतालाई जोगाउन सबै आ–आफ्ना घर फर्किन लावालस्कर लागेका छन् ।
आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे ऐश्वर्य नहुषे, गतिश्च पवने, मानंच दूर्योधने सौर्य शान्तनवे, बलं हलधरे सत्यंच कुन्ती सुते विज्ञान विदुरे भवतु भवता कीर्तिश्च नारायणे ।।
विजया दशमीको टीकाको बेला दिइने यो आर्शीवचन पुरुषलाई टीका लगाउँदा भनिन्छ । यसैगरी महिलाका लागि यो आर्शीवचन भनिन्छ ।
ॐ जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।।
शुभाशिषहरुमा व्याख्या भए झै हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्न सकौं । सत्य बोल्न, सत्कर्म गर्न, आदर–सम्मान गर्न कहिले नचुकौं, सम्पूर्णमा विजयादशमीको टिका, जमरा र आशिषले जीवनमा उर्जा भरोस्, सफलताका आयामहरू थपिंदै जाउन् । असत्यमाथी सत्य तथा अन्यायमाथी न्यायको बिजयको प्रतिक यस पावन पर्व विजयादशमी । सबैको शुभ होस्, मङ्गल होस् । क्रोध, लोभ, अन्याय–अत्याचार, अहंकार, दण्डहिनता, क्रुरता, भ्रष्टाचार तथा भोक र शोकले ब्याप्त अनेक रावण रूपको अन्त्य गर्न सकियोस्, हार्दिक शुभकामना !
शरद् ऋतु, आफैंमा रमणीय वातावरण, त्यसमाथि निलो आकाश, सेता हिमाल, खेतका गह्रा र बारीका पाटामा बहेली खेलेर झुलीरहेका धानका बाला, कान्ला र ढिस्कामा फुलिरहेका सयपत्री पूmलको सुगन्ध र दसैँ घर आगनमा भित्रिसकेको शुभसङ्केत । वन–उपवनमा ढकमक्क फुलेका फूल । खेतमा लहलह झुलेका धानका बालाहरू । बारीमा तरकारी र लटरम्म फलेका फलफूलहरू । वर्षा थामिएको, न जाडो न गर्मी मौसम । कृषिप्रधान देशका नागरिकहरूलाई हलो, कुटो, कोदालो र हिलो माटोबाट फुर्सद मिलेको समय । घरपालुवा पशुपन्छीको वंश वृद्धि भएको याम । यही उमङ्गमय वातावरणमा जिजीविषाका लागि टाढा टाढा देश–परदेशमा गएका आफन्तजनहरूसँगको मिलनले कसको मन उल्लासित हुँदैन र !
मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षण मात्र नभएर नातासम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक राष्ट्रिय राजनीतिक अवसरको रूपमा पनि महत्त्व बोकेको पर्व हो–दसैँ ।
पहिला गाउँका खुला चउर, भञ्ज्याङ, चौतारी, घरका आँगनमा पिङ हालेपछि दसैँ आएको आभास हुन्थ्यो । दसैँका लागि भनेर बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो । बारीका कान्लाभरी बाबियोले भरिन्थ्यो । पिङका लागि डोरी बाट्न भनी बाबियो खोज्न आउनेको चहलपहलले दसैँको उमङ्ग बढाउने गर्दथ्यो । “बारीका कान्लामा बाबियो पिङ बाट्न नकाटिकन संरक्षण गरेर राखिन्थ्यो, दसैँ आउन लाग्यो भनेपछि तल्लो गाउँका स्थानीयवासी (बेँसी) हाम्रा गाउँमा आएर बाबियो काटेर लैजादा बल्ल दसैँ आयो भन्ने आभास हुन्थ्यो । तर हिजोआज त कमैले मात्रै बाबियो खोज्दछन् । गाउँमा पनि पहिलाजसो पिङ देखिदैँन । बजारबाट लठ्ठा किनेर ल्याएर पनि कहीँकतै मात्रै पिङ राख्न थालियो ।
देउराली र भञ्ज्याङबारीमा काठबाट बनेको चर्खे पिङ राख्ने गरिएकोमा अहिले यो पिङ हराउँदै गएको छ । काँही काँही मात्रै लिङ्गे पिङ राखेको पाइन्छ । पहिलेको तुलनामा त यो पिङ पनि कमै राख्ने गरिन्छ । गाउँका सबै ठूलाबा, बा, कान्छाबा, पल्लाघरे दाई, माख्लाघरे काका बिहानै उठेर बाबियो खोजेर पिङ हाल्न भन्दै सबै जम्मा भएर पिङ तयार पारिन्थ्यो, तर अहिले त पिङका लागि खोजिने त्यो बाँबियोको कुनै महत्व छैन ।
“पिङ खेल्न पहिलाजस्तो रहर मान्नै छाडिसके । गाउँघरमा बजार वस्ती बढ्दै जाँदा पार्कहरु बनेका छन्, सानासाना बालबालिकालाई त्यही लगेर कृत्रिम पिङ खेलाउन थाल्ने क्रम बढेको छ । परम्परागत पिङ बनाउने र खेल्नेको उत्साह नहुँदा संस्कृति नै हराउँदै गएको छ । आधुनिक प्रविधिको प्रयोग र सुख सुविधाले पुराना संस्कृति नै हराउँदै जान थालेका छन् । हिजोआज परम्परादेखि नै चलनचल्तीमा आएका चर्खे पिङ, लिङ्गे पिङ तथा रोटे पिङ लोप हँुदै गएको छ ।
टाढाटाढाबाट पनि दसैँका बेला पिङ खेल्न आउनेको घुइँचो रहने गथ्र्यो तर अहिले पिङ राख्ने चलन हट्दै जाँदा गाउँ नै सुनसान बनेको छ । दसैँका दिन एक पटक भएपनि जमिन छोड्नुपर्छ भन्ने मान्यताले पिङ खेलिने परम्परालाई आजभोलि युवापुस्ताले त्यति चासो दिदैनन् । तर सानासाना बच्चाका लागि बजारमा आएका प्लाष्ट्रिकको डोरी बाँधेर घर–घरमा पिङ राख्ने चलन भने बढ्न थालेको छ । हिजो हामी साना छदाँ गाउँघरमा चनचल्तीमा आएको चर्खे पिङ, लिङगेपिङ र घुमाउने पिङ खेलेर मज्जा लिदै आफन्त, साथीभाइ भेटघाट हुने र शुभकामना आदानप्रदान गर्ने, खुसी साटासाट गर्ने गरिन्थ्यो । कामको व्यस्तता, बाह्य संस्कृतिको प्रभाव, पिङप्रतिको मोह कम हुँदै जाँदा अहिले गाउँघरबाट परम्परागत हाम्रा चाडपर्व झल्किने खालका संस्कृति लोप हुँदै गएका छन् ।
दसैँ आउनु महिना दिन अगावै घरका भित्ता लिपपोत गर्न रातो माटो र सेतो कमेरो माटोको बन्दोबस्तो गरिन्थ्यो । गाउँमा घर सिङ्गारेर चिटिक्क बनाउने छिमेकीबीच होडबाजी नै चल्थ्यो । खोलाका किनार, वनजङ्गलमा माटो खोजेर घर सजाउँदा गाउँ नै सुन्दर देखिन्थ्यो । तर हिजोआज भने खोला, वनजङ्गलमा धाएर माटो खोजेर घर लिपपोत गर्ने चलन हराउँदै गयो ।
अहिले त घर लिपपोत गर्न प्रयोग गरिने सेतो, रातो र कालो माटोको सट्टा बजारमा आएका विभिन्न रङ्गरोगनको प्रयोग बढ्न थालेको छ । बजारमा तयारी अवस्थामा पाइने विभिन्न वस्तुप्रति मान्छेको आकर्षण बढ्न थालेपछि ग्रामीण वस्तुको उपयोग कम हुन थालेको छ । यसरी कृत्रिम वस्तुको प्रयोग दिनप्रति दिन बढ्दै जाँदा हाम्रा पुराना मौलिक संस्कार, संस्कृति हराउन पुगेका छन् । यसले चाडपर्व खर्चिलो र भड्किलो पनि बन्दै गएको छ ।
दसैँमा चङ्गा उडाएर रमाइलो गर्ने पुरानो चलन अहिले लोप भएको छ । चाडपर्व सुरु भएदेखि गाउँघरमा साथीभाइ, आफन्त रमाइलो गर्दै खुल्ला चउर र सडकमा बसेर पालैपालो आकाशमा चङ्गा उडाउँदा गाउँ नै रमाइलो देखिन्थ्यो । खुला आकाशमा चङ्गा उड्दा गाउँमा निकै रमाइलो उत्साह छाउँथ्यो । पहिला गाउँमा चङ्गा उडाउने होडबाजीले कसको चङ्गा कति माथिसम्म पुग्यो भन्ने प्रतिस्पर्धामा चङ्गा उडाइन्थ्यो । त्यसरी खुला आकाशमा रङ्गमय चङ्गा उडाउँदा वातावरण नै सुन्दर बन्थ्यो ।
हिजोआज बढ्दो सूचना प्रविधिको विकासले आकाशमा प्रतिस्पर्धात्मक रुपमा चङ्गा उडाएर मनोरञ्जन लिने चलन हराउँदै गएको छ । यस्ता पुराना संस्कृतिहरु हिजोआज लोप हुन पुगेका छन् । पुराना संस्कार संस्कृतिमा परिवर्तन आउन थालेको छ ।
नेपालीहरूको महान चाड बडादसैँ पर्वलाई नवरात्र पनि भनिन्छ । बडा दसैँ आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो । हिन्दु धर्मावलम्बी हरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन बिहान दशमीका दिन आफू भन्दा ठुला मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रूपमा पूर्णिमासम्म मनाउने गर्छन् ।
दसैँ प्रतिपदा घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म पन्ध्र दिनको हुने भएता पनि पहिलो नौ दिनलाई नवरात्रि र दसौँ दिनलाई दसैँ भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानव जातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । वास्तवमा दश दिन मनाइने हुनाले पनि यो हिन्दुहरूको महान् पर्वलाई दसैँ भनिएको हो । दसैँमा नवदुर्गा हिन्दु धर्मकी शक्तिस्वरुपा देवी दुर्गाको नौ वटा रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुशमन्डा, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिधात्री विशेष पूजा तथा आराधना गरिन्छ ।
नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्ल पक्ष प्रतिप्रदाका दिनदेखि महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पूजा गर्ने गरिन्छ । दशौँ दिन विजयादशमीमा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरूप मान्यजनबाट रातो टिका र जमरा लगाएर र आशीर्वाद थापेर मनाइन्छ । टाढा टाढा देखि आउने पाहुनाहरूलाई पूर्णिमा सम्मै पनि टीका लगाएर आशीर्वाद दिने गरिन्छ ।
दसैँलाई बडा दसैँ, दशहरा, विजया दशमी, आयुध–पूजा आदि नामले चिनिन्छ । विशेष गरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । यो नेपालीहरूको सबैभन्दा ठुलो राष्ट्रिय चाड हो । त्यसमा पनि विजयादशमी दसैँको मुख्य दिन हो ।
बडादसैँको पर्वमा मालश्री धुन बजाएर र गीत गाएर रमाइलो पनि गरिन्छ । देश विदेश वा टाढा टाढा भएका आफ्ना साथीभाई, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । पर्वले यस्तो सुनौलो अवसर जुटाइदिन्छ । त्यसको बेग्लै मज्जा छ । दसैँमा दक्षिणा, टिका, जमरा र पिङको मज्जालाई छुट्टै खास अर्थ र महत्त्वका रूपमा लिइन्छ ।
आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा गरिन्छ । प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती चण्डी पाठ गरी नवदुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा र आराधना गरिन्छ ।
विजया दशमीको दिन भगवतीले दानवी शक्ति माथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिइन्छ । यसरी धार्मिक रूपमा दशमीलाई विजया दशमी भनिएको हो । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले मान्यजनबाट टिका ग्रहण गर्ने कार्य पूर्णिमासम्म गर्ने प्रचलन रहेको छ ।
आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने–ख्वाउने, घर आँगन, बाटोघाटो, गाउँ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । यसो गरेमा वर्ष भरिनै सुख प्राप्ति हुने, दैविक शक्ति प्राप्त भई कार्य सफलता मिल्ने शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।
विजयादशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति–पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो। हर्ष एवं उल्लास तथा विजयको पर्व हो। हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव सुरु भएको हो। दसैँ पर्वले दश प्रकारका पापहरू– काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा दिन्छ ।
महासप्तमी नवरात्रिको सातौँ दिन फूलपाती हो। नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू घर घरमा भित्र्याइन्छ । वर्षा ऋतु सिद्धिएर शरद ऋतु को स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धि कारक जीवांश –भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहँदैनन् भन्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहिआएको छ।यस दिन सदर टुँडिखेलमा फूलपाती बढाइँ भएपछि फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पुजी प्रत्येकको नौका दरले दुर्गा पूजा गरेको स्थानमा भित्र्याइन्छ। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसी दानी आदिको पनि पूजा गरिन्छ। किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्।
महाष्टमी नवरात्रिको आठौँ दिनमा महाकाली –भद्रकाली)को विशेष पूजा–आजा गरिन्छ। देवीभागवत् अनुसार प्राचीन कालमा दक्ष प्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौँ योनी–शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ ।
महानवमी नवरात्रिको नवौँ दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा–आजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ । बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईर्ष्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् ।
विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटुन्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्ति स्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाऊँ अर्थात् त्यागौँ भन्ने शास्त्रीय मान्यता हो । तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थाले । त्यस्तै देशका विभिन्न दुर्गा भगवती मन्दिरहरूमा बोका तथा राँगा बलि चढाउने प्रचलन रहेको छ ।
नवरात्रिको दशौँ दिनलाई विजया दशमी पनि भनिन्छ । सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्ट दल लेखी त्यसका बिचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बिचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाहनं र सोह्र सामग्रीले पूजा गरी यथा शक्ति हवन गरी जमरालाई पूजा गरी भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जली गरिन्छ । यति गर्नाले कसैले पनि आफू माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास रहेको छ ।
त्यसपछि मन्त्र पाठ पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछ । यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ । घरका मुलमान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा लगााई टाउकोमा जमरा लगाई दक्षिणा दिई आशीर्वाद दिने प्रचलन छ । मान्यजनहरूको हातबाट टिका लगाई सकेपछि मिठा मिठा भोजनहरू गरेर पिङ खेल्ने चलन रहेको छ ।
यसरी आश्विन शुक्ल प्रतिपदा घटस्थापनाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी को जागेको छ ? भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दछन् । यसरी पन्ध्र दिनसम्म मनाइदैं दसैँको समापन गरिन्छ । दसैँ राष्ट्रिय एकताको कारण बनोस्, देशमा सर्वत्र शान्ति छाओस्, समाजमा सकारात्मक सोचको विकास गर्न दसैँ कोशे ढुङ्गा बनोस्, सम्पूर्ण नेपाली बा आमा। दाजुभाई, दिदीबहिनीहरुमा विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना ।