लुम्बिनी, असोज १९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले लगानी मैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताउनुभएको छ । रुपन्देही उद्योग सङ्घको ४६ औँ वार्षिक साधारणसभालाई आज बुटवलमा सम्बोधन गर्दै उहाँले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकारले उच्च प्राथमिता दिनुपर्छ भन्नुभयो । उहाँले प्रदेश सरकारले अगाडि बढाएका औद्योगिक क्षेत्रको विकासको लागि योजनाबद्ध काम हुने समेत स्पष्ट पार्नुभयो ।

लुम्बिनी प्रदेश सरकारले तराईका केही जिल्लामा औद्योगिक क्षेत्र बनाउने निर्णयलाई कार्यान्वयन गर्नेगरी काम अघि बढ्ने जानकारी दिँदै उहाँले उद्योगी, व्यवसायीको उत्साहसंग प्रदेशको समग्र विकासको सम्वन्ध जोडिएको छ भन्नुभयो । मुख्यमन्त्री आचार्यले सरकारले उद्योगी मैत्री नीति अलवम्बन गरेको बताउनुभयो ।

“जबसम्म उद्योगी, व्यवसायीले निर्विवाद ढङ्गले उत्साहित बनाएर सरकार अघि बढ्न सक्दैन, तव सम्म मुलुकको पनि उन्नती हुन सक्दैन । प्रदेशको पनि विकास हुन सक्दैन । विकास गर्नेभनेकै नीजि क्षेत्रले हो”, मुख्यमन्त्री आचार्यले भन्नुभयो,“सरकारले लगानीको वातावरण बनाउँछ । लगानी गरेर विकास गर्ने भनेको नीजि क्षेत्रले हो ।”

मुख्यमन्त्री आचार्यले परनिर्भर होइन, आत्मनिर्भर हुन जरुरी रहेको जनाउँदै उत्पादनको क्षेत्रमा लगानी बढाउन उद्योगी, व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले स्थानीय उत्पादनलाई बढाउने र आयात भन्दा निर्यातमा जोड दिन जरुरी रहेको र स्वदेशी उत्पादनलाई बढाउन सरकारले पनि साथ दिने स्पष्ट पार्नुभयो ।

प्रदेश सरकारले बनाएका कानुनबाट उद्योग र व्यवसायका क्षेत्रमा काम गर्न सन्दर्भमा कुनै समस्या परेको भए त्यसलाई सहजीकरण गरेर, त्यो कानुनलाई संशोधन गरेर उद्योगीमैत्री बनाउनको निमित्त प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो । सो अवसरमा उहाँले उद्योगी, व्यसायीको सुझावलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।