मस्को, असोज १८ गते । रूसका विदेश मन्त्री सर्गेइ लाभारोभले पश्चिमा देशहरूलाई तालिबान नेतृत्वको अफगानिस्तानमाथि लगाइएको प्रतिबन्ध हटाई देशमा पुनर्निर्माण प्रयासको ‘जिम्मेवारी’ लिन शुक्रबार आह्वान गर्नुभएको छ ।

तालिबान सरकार दुई दशकभन्दा बढी समयदेखि पश्चिमी प्रतिबन्धको अधीनमा रहेको छ । तालिबान तथा मध्यपूर्व र मध्य एसियाका छिमेकी देशहरूका दूतहरू संलग्न रहेको अफगानिस्तानमा रुसको नेतृत्वमा भएको वार्षिक कूटनीतिक मञ्चको उद्घाटन समारोहमा लाभारोभले यस्तो बताउनुभएको हो । 

सन् २०२१ मा सत्तामा फर्किएसँगै युद्धग्रस्त अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि मस्कोले तालिबानसँगको सम्बन्धलाई बढावा दिएको छ । सोभियत सङ्घले सन् १९८० को दशकमा एक दशक लामो युद्ध लड्ने क्रममा मुजाहिद्दीन प्रतिरोध लडाकूहरूको उदय भएको थियो । तीमध्ये धेरै तालिबान नेता बने ।

विभिन्न रुसी अधिकारीहरूले तालिबानलाई ‘आतङ्कवादी र चरमपन्थी सङ्गठनहरू’ को कालो सूचीबाट हटाउन आह्वान गरेका छन् । रूसको एफएसबी सुरक्षा एजेन्सीका प्रमुख अलेक्जेन्डर बोर्टनिकोभले शुक्रबार अफगानिस्तानको विशेष सेवाहरूसँग ‘पारस्परिक रूपमा फाइदाजनक’ सहयोग हेर्न चाहेको बताएको सरकारी समाचार एजेन्सीहरूले जनाएका छन् ।

अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकी वार्ताका लागि मस्कोमा हुनुहुन्थ्यो । यसै क्रममा रूसले अफगानिस्तानमा कुनै पनि बहानामा सैन्य आधार राख्ने वा छिमेकी देशहरूमा नयाँ सैन्य सुविधाहरू स्थापनालाई  स्वीकार नगर्ने पनि लाभारोभले बताउनुभयो ।