काठमाडौँ, असोज १८ गते । गत साता आर्थिक प्रक्षेपण र अवस्थाको मूल्याङ्कनका हिसाबले दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय संस्थाहरुले नेपालको अर्थतन्त्र सुधारिँदै गएको टिप्पणी गरे । एशियाली विकास बैंक (एडिबी) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) दुवैले नेपालको अर्थतन्त्रमा खासगरी कृषि उत्पादन, पर्यटन आगमन र विद्युत् उत्पादनको सकारात्मक प्रभाव परेको बताएका छन् । एडिबीले समयमै मनसुन भित्रिएकाले कृषि उत्पादन बढ्ने, विद्युत् उत्पादन वृद्धिले औद्योगिक उत्पादनमा टेवा पुग्ने र पर्यटन आगमन बढेर कूल गार्हस्थ उत्पादन वृद्धिमा सघाउने टिप्पणी गरेको छ । एडिबीले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।
आइएमएफले पनि नेपालको वैदेशिक मुद्राको सञ्चिति उच्च रहेको, विप्रेषण बढेको, पर्यटन आगमन बढेको र मूल्यवृद्धि नियन्त्रणमा रहेको कारण अर्थतन्त्र सुधारको दिशामा गएको जनाएको छ । यी दुई अन्तर्राष्ट्रिय दातृ निकायले प्रक्षेपण गरेजस्तै गतवर्ष जस्तो नभई यस वर्ष देशको आर्थिक स्थितिमा केही सुधार हुने देखिएको छ । तर हालैको बाढी, पहिरोले त्यस प्रक्षेपणलाई चुनौती दिएको छ ।
सन् २०२४ को आठ महिनामै सात लाखभन्दा बढी पर्यटक नेपाल भित्रिइसकेका छन् । गतवर्ष सो अवधिमा मात्र छ लाख पर्यटक भित्रिएका थिए । त्यसैगरी विप्रेषणको कुरा गर्दा चालु आवको साउन महिनामै रु एक खर्ब ३७ अर्ब भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आवको सोही महिनामा एक खर्ब १६ अर्ब मात्र विप्रेषण भित्रिएको थियो ।
त्यसैगरी वैदेशिक मुद्राको सञ्चिति पनि बढेर चालु आवको साउनसम्म १५ अर्ब ५८ करोड डलर (२० खर्ब ९२ अर्ब २२ करोड नेरु ) पुगेको छ । यसले साढे १३ महिनाको आयात धान्न पुग्ने राष्ट्र बैंकको भनाइ छ । वैदेशिक मुद्राको सञ्चिति पनि गत आवको साउनसम्म १५ अर्ब १८ करोड डलर थियो । त्यसैगरी आयात घट्दा र विप्रेषण बढ्दा शोधानान्तर (रकम बाहिरिने र भित्रनेबीचको अन्तर) बचत पनि बढेको छ । चालु आवको पहिलो महिना साउनमै शोधानान्तर बचत रु ४० अर्ब ९० करोड पुगेको छ । गत वर्षको सोही अवधिमा शोधानान्तर स्थिति रु ३६ अर्ब ६३ करोडले बचतमा थियो । चालु आवको पहिलो महिनामै चालु खाता रु ३० अर्ब ३७ करोड बचतमा छ । गत आवकोे सोही अवधिमा चालु खाता रु १३ अर्ब ३७ करोड बचतमा थियो ।
त्यसैगरी अर्थतन्त्रमा मूल्यवृद्धि पनि नियन्त्रणमा आएको देखिन्छ । चालु आवको साउन महिनामा उपभोक्ता मूल्य वृद्धिदर ४.१० प्रतिशतमा सीमित रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा ७.५२ प्रतिशत मूल्यवृद्धि रहेको थियो । अर्थतन्त्रको धेरैजसो बाह्य र केही पर्यटन, विद्युत् उत्पादन तथा कृषि क्षेत्रलगायतको आन्तरिक क्षेत्रसमेत सुधारिँदै गएको हो । फलस्वरुप एडिबी र आइएमएफजस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले आर्थिक बृद्धि हुने प्रक्षेपण गरे । तर यसबीच विगत केही दिनयताको घनघोर वर्षा, त्यसले निम्त्याएको बाढी र पहिरोले नेपालमा ठूलो मात्रामा जिउधनको क्षति गरिसकेको छ । क्षतिको आँकलन कति हुनेछ त्यो यकिन त भइसकेको छैन । खासगरी कोशी र बाग्मती प्रदेशमा आएको बाढी, पहिरोले पु¥याएको क्षतिले आर्थिक वृद्धि र प्रक्षेपणलाई चुनोैती भने दिएको छ ।
यस प्राकृतिक विपत्तिले अव्यवस्थित विकास, बसोबास र शहरीकरणले जहिले पनि नोक्सानी पु¥याउन सक्ने पाठ पनि सिकाएको छ । यसपटकको बाढी, पहिरोमा परी दुई सयभन्दा बढीकोे मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । त्यसैगरी करिब चार सय घर पूर्णदेखि आंशिक रुपमा क्षति भएको, देशका अधिकांश राजमार्गमा कुनै न कुनै प्रकारको क्षति पुगेको, दुई दर्जन बढी पुल पूर्णरुपमा भत्किएको अवस्था छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सडक तथा पुलहरुमा मात्र रु दुई अर्ब ५० करोड बढीको क्षति भएको छ । त्यसैगरी स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अनुसार १६ वटा जलविद्युत् कम्पनीमा दुई अर्बभन्दा बढीको क्षति भएको छ ।
विपद्ले कृषि क्षेत्रमा त्यत्तिकै नोक्सानी भएको छ । प्राधिकरणको अनुसार जनताको निजी सम्पत्ति, सार्वजनिक सम्पत्तिमा पुगेको क्षति र त्यसको पुनःनिर्माणमा लाग्ने खर्च जोड्दा यस विपत्तीबाट कम्तिमा रु एक खर्बको नोक्सानी भएको छ । सडक तथा पुलहरु भत्किदा देशले आगामी दिनहरुमा भोग्ने आर्थिक क्षतिको पाटो अर्को पनि हुन्छ । सुधारोन्मुख बन्दै गएको अर्थतन्त्रलाई बाढी तथा पहिरो, डुबानले नराम्ररी धक्का दिएको छ । फलस्वरुप देशको आर्थिक वृद्धि र विस्तारमा त्यसले नकारात्मक असर गर्नेछ ।
विपद्ले कृषि क्षेत्रमा त्यत्तिकै नोक्सानी भएको छ । प्राधिकरणको अनुसार जनताको निजी सम्पत्ति, सार्वजनिक सम्पत्तिमा पुगेको क्षति र त्यसको पुनःनिर्माणमा लाग्ने खर्च जोड्दा यस विपत्तीबाट कम्तिमा रु एक खर्बको नोक्सानी भएको छ । सडक तथा पुलहरु भत्किदा देशले आगामी दिनहरुमा भोग्ने आर्थिक क्षतिको पाटो अर्को पनि हुन्छ । सुधारोन्मुख बन्दै गएको अर्थतन्त्रलाई बाढी तथा पहिरो, डुबानले नराम्ररी धक्का दिएको छ । फलस्वरुप देशको आर्थिक वृद्धि र विस्तारमा त्यसले नकारात्मक असर गर्नेछ ।
नयाँ सरकार बनेर अर्थमन्त्री विष्णु पौडेल भएपछि शेयर बजार पनि केही हदसम्म उकालो लाग्न थालेको छ । नयाँ मौद्रिक नीतिले घरजग्गा तथा शेयर बजारको लागि केही सहजता पनि दिएको हो । फलस्वरुप शेयर बजार र घरजग्गा कारोबार दुबै क्षेत्रमा सुधार आएको हो । नजिकिएको बडादशैं, तिहारजस्ता चाडबाडले अर्थतन्त्रलाई थप गतिशील बनाउने, व्यवसायीहरुको व्यापार बढ्ने आशा गरिएको छ । समग्रमा अर्थतन्त्रको बाह्य परिसूचक अत्यन्त सकारात्मक रहेको र आन्तरिक पक्षमा क्रमिक सुधार आउँदै गरेको अवस्था हो । भदौ अन्तिम सातापछि वाणिज्य बैंकहरुले पनि कर्जालाई विस्तार गर्न थालेका हुन् । खासगरी बैंकहरुको कर्जाकै ब्याजदर पनि एकल अंक नजिक आउँदा ऋण लगानी बढ्न थालेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार चालु आव २०८१/८२ को असोज १० गतेसम्म बैकिङ प्रणालीमा रु ६५ खर्ब ३२ अर्ब निक्षेप सङ्कलन रहेको छ । यसमध्ये वाणिज्य बैंककहरुमा नै ५८ खर्ब सात अर्ब निक्षेप रहेको छ । सो अवधिसम्ममा बैक तथा वित्तीय संस्थाहरुले कुल रु ५२ अर्ब ३८ करोड रकम कर्जा लगानी गरेका छन् । राष्ट्र बैकका अनुसार औसत सिडी रेसियो ७८.८० रहेको छ । अहिलेको अवस्थामा छ खर्ब लगानीयोग्य तरलता रहँदा बैंकहरुले कर्जा विस्तार गर्न थालेका हुन् । कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकार बनेपछि राजस्व सङ्कलनमा पनि केही सुधार देखिन्छ ।
महालेखा परीक्षकको कार्यालयको अनुसार चालु आव २०८१/८२ को साउन र भदौ महिनाको अवधिमा रु एक खर्ब ६९ अर्ब रुपैँया राजस्व संकलन भएको छ । जुन चालु आवको बजेटमार्फत लिइएको लक्ष्यको ११.६६ प्रतिशतले बढी हो । वास्तवमा आयात–निर्यात व्यापारमा आएको सुधारले नै राजश्व सङ्कलनमा सुधार आएको देखिन्छ । यसबीच शेयर बजारमा आएको सुधारले साउन महिनामा मात्रै सरकारलाई रु २० अर्ब बढी पुँजीगत लाभकर सङ्कलन भएको छ । शेयर बजारमै बैंकहरुले यसबीच ७० अर्ब बढी कर्जा प्रवाह गरेका छन् । यसले अर्थतन्त्र क्रमशः सकारात्मक दिशातिर जाँदै गरेको प्रष्ट गर्दछ ।
आन्तरिक अर्थतन्त्रको चित्र प्रस्तुत गर्ने शेयर बजार परिसूचक नयाँ आव सुरु भएयता सुधारिएको हो । नेप्से १९ सयदेखि दुई हजार अङ्कमा बरालिइरहँदा साउनयता तीन हजार अङ्कको उचाइ भरेर अहिले केही सुधार भएको देखिन्छ । खासगरी भित्रिएको दसैँ, तिहारजस्ता चाडबाडको दबाबले पनि शेयर बेच्ने र खर्च जुटाउनेहरु धेरै हुँदा बजारमा केही फरक देखिन्छ । चाडबाडपछि बजारले फेरि उही लय समात्ने धेरैको आशा छ ।
त्यसैगरी पर्यटन क्षेत्रमा पनि विगत वर्षहरुभन्दा सुधार हुँदैछ । पर्यटन आगमनको मौसम सुरु भएयता होटल तथा रेष्टुरेन्टहरु भरिन थालेका छन् । ट्राभल एजेन्सी तथा टेकिङसँग सम्बन्धित जनशक्तिहरुले रोजगारी पाएका छन् । त्यसकारण केही महिनायता अर्थतन्त्रमा क्रमिक सुधार पक्कै हो । तर अपसोच हालैको प्राकृतिक विपत्ति (बाढी, पहिरो, डुबान) ले ठूलो मानवीय तथा भौतिक क्षति गरेको अवस्था छ । यसले सुधारिँदै गएको अर्थतन्त्रमा ठूलो धक्का दिएको छ । यस्तो शोकलाई शक्तिमा बदलेर अर्थतन्त्रको सुधार तथा पुनरुउत्थानमा सरकारले डटेर लाग्नुपर्ने आवश्यकता छ । देशको आन्तरिक अर्थतन्त्र अझै गतिशील बनाएर रोजगारी र अवसरहरुको सिर्जना गराउनेमा सरकारले सिर्जनात्मक प्रयास थाल्नुपर्छ । बाढी र विपत्तीहरुबाट पाठ सिकेर आधुनिक र दिगो विकासको पथमा सरकारले पाइला चाल्नुपर्छ । (लेखक आर्थिक लेखक तथा विश्लेषक हुनुहुन्छ)