जलेश्वर, असोज १७ गते । जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूली देवीको मन्दिरसर्वसाधारणका लागि खोलिएको छ । यो मन्दिर भक्तजनका लागि हरेक वर्ष बडादसैँका १० दिन मात्र खोल्ने प्रचलन छ ।

मन्दिरका पूजारी उपेन्द्र पाठकका अनुसार दसैँमा मात्र खुला हुने मन्दिरमा आज बिहानैदेखि घुइँचो लागेको छ । त्रिशूली शक्तिपीठमा महोत्तरी, धनुषा, सिरहा, सर्लाहीलगायत भारतको सीतामढी र मधुवनी, दरभङ्गा र मुज्जफरपुरबाट पनि दर्शनार्थी आउने गरेका छन् । त्रिशूली मन्दिरमा भाकल गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।