काठमाडौँ, असोज १७ गते । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार दिउँसो नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा छापा मारी कागजपत्र नियन्त्रणमा लिएको छ । अख्तियारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा भ्रष्टाचार भएको उजुरीमा छानबिन गरिरहेको छ । यसै विषयमा अख्तियारले माग गरेका थप आवश्यक कागजपत्र प्राधिकरणले उपलब्ध नराएपछि छापा मारेर नियन्त्रणमा लिनुपरेको हो ।

अख्तियारले यसअघि २०८० साल कात्तिक १२ गते क्षेत्रीय कार्यालय पोखराबाट अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक अनियमितता भएको दाबी गर्दै आयोजनाबाट कागजपत्र नियन्त्रणमा लिएको थियो । तर प्राधिकरणसँग माग गरिएका कागजपत्र उपलब्ध नगराइएपछि बुधबार छापा मारेर नियन्त्रणमा लिनुपरेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारको टोलीले प्राधिकरणले सिनामंगलमा बनाएको उसको नयाँ भवनको कागजात पनि नियन्त्रणमा लिएको छ ।

‘अख्तियारले विमानस्थल निर्माणसँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन दुई महिनादेखि प्राधिकरणलाई पत्राचार गरेको थियो तर उसले आनाकानी गर्दै आएको थियो’, स्रोतले भन्यो । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागत दोब्बर बनाएको, निर्माणका लागि ठेक्का प्रक्रियामा चलखेल गरेकोलगायत विषयमा छानबिनका लागि कागजात नियन्त्रणमा लिइएको हो’, अख्तियार स्रोतले भन्यो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा विमानस्थलको लागत बढाउन सहयोग गरेको, गुणस्तरहीन काम गर्न लगाएको, आयोजना निर्माण कम्पनीसँग मिलेमतो गरेको भन्दै आयोगमा उजुरी परेका छन्। उजुरीका आधारमा थप छानबिन गर्नुपर्ने भएकाले क्यानमा छापा मारी कागजात नियन्त्रणमा लिनुपरेको स्रोतको दाबी छ ।

यसैगरी अख्तियारले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र मुआब्जा वितरणसँग सम्बन्धित कागजात पनि नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार अख्तियारले पोखरा विमानस्थल आयोजनामा काम गर्ने केही कर्मचारीको बैंक खाता पनि रोक्का राखेको छ ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गुणस्तरहीन सामग्री त प्रयोग गरिएको छ नै, टेन्डर प्रक्रियालगायतमा सेटिङ गरी राज्यको अर्बाैं रूपैयाँ लुटिएको छ । यसै विषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ’, स्रोतले भन्यो, ‘अनुसन्धान सुरु भएको एक वर्ष भयो, केही आवश्यक कागजात हेर्न बाँकी छ । अनुसन्धान सकिन कति समय लाग्छ भन्न सकिन्न।’ अख्तियारले क्यान कार्यालयमा प्राविधिक टोलीलाई समेत लगेर कागजात नियन्त्रणमा लिएको हो ।

सुरुमा १२ अर्ब रूपैयाँमा निर्माण सम्पन्न हुनेगरी स्टमेट गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत पछि बढाइएको थियो। त्यतिबेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख प्रदीप अधिकारी थिए । उनी अहिले प्राधिकरणको महानिर्देशक छन् । अधिकारीले नै १२ अर्ब रूपैयाँबाट लागत बढाएको स्रोतले दाबी छ ।

चीनको एक्जिम बैंकको ऋण सहयोगमा बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा तीनवटा अन्तर्राष्ट्रिय र आठवटा आन्तरिक उडानका विमान पार्किङ गर्न सकिने भए पनि त्यहाँबाट हालसम्म एकाधबाहेक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । एक्जिम बैंकको २२ अर्ब रूपैयाँ दुई प्रतिशत ब्याजमा र दुई अर्ब अनुदान गरी २४ अर्ब लागतमा निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत अनुमान अस्वाभाविक रूपमा वृद्धि गरिएको उजुरी अख्तियारमा परेको छ ।

तत्कालीन आयोजना प्रमुख रहेका अधिकारीले पोखरा विमानस्थलको ठेक्का सेटिङमा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङ कम्पनीलाई दिएका थिए। सिएएमसी इन्जिनियरिङ कम्पनीसँग नेपाली ठेकेदार कम्पनी क्षमादेवी कन्स्ट्रक्सनलाई जेभीमा राख्ने चाँजोपाँजो पनि उनै अधिकारीले मिलाएको स्रोतको दाबी छ ।

सरकारले एक्जिम बैंकबाट लिएको सहुलियत ऋण प्राधिकरणले सरकारबाट पाँच प्रतिशत ब्याजदरमा लिएको थियो । चीनबाट दुई प्रतिशत ब्याजदरमा २२ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण प्राप्त हुने भएपछि सरकार र प्राधिकरणबीच २०७३ जेठ २३ मा सम्झौता भएको थियो । सम्झौतामा प्राधिकरणले सरकारबाट लिएको उक्त ऋणको ब्याज विमानस्थल निर्माण सम्पन्न भएपछि सात वर्षसम्म दुई प्रतिशतका दरले मात्र तिर्ने उल्लेख छ । सात वर्षपछि भने १३ वर्षमा २६ किस्ता गरेर साँवा चुक्ता गर्ने सम्झौतामा उल्लेख छ ।

अख्तियारले ६ महिनाअघि नै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालेको थियो। भैरहवा विमानस्थल निर्माण, जग्गा अधिग्रहण तथा ट्याक्सी वे विस्तारमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले प्रारम्भिक अनुसन्धान गर्दा भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो ।

यस मामिलामा विस्तृत अध्ययन गर्ने गरी अख्तियारले प्राधिकरणका महानिर्देशक अधिकारीसँग गत चैतमै बयान लिएको थियो। प्रदीप, भैरहवा विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीलगायतलाई केन्द्रमा राखेर अख्तियारले अनुसन्धान अघि बढाएको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा भैरहवा विमानस्थल बनाइएको हो। विमानस्थल बनाउने ठेक्का चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले पाएको थियो । (आजको नागरिक दैनिकबाट)