फाइल तस्वीर
नयाँदिल्ली, असोज १६ गते । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधबार हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । हेलिकप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका हुन् ।

अधिकारीहरुका अनुसार मुम्बईको दक्षिणपूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समय अनुसार बिहान ६ः४५ बजे दुर्घटना हुदाँ हेलिकप्टरमा आगो लागेको थियो ।

दुर्घटनामा हेलिकप्टरमा सवार दुई जना पाइलट र एक जना इञ्जिनियरको मृत्यु भएको प्रमुख अग्नि नियन्त्रक अधिकारी देवेन्द्र पोटफोडले पत्रकारहरू समक्ष बताउनु भएको छ । उहाँले आफुहरु घटनास्थलमा पुग्दा, हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका सबै भागहरू छरिएको देखेको उल्लेख गर्नु भएको छ ।

उहाँले दुर्घटनामा मृत्यु वरण गरेका तीनैजनालाई निकाली उनीहरूलाई प्रहरीलाई हस्तान्तरण गरेको बताउनु भएको छ ।

हेलिकप्टर विपक्षी राष्ट्रवादी काङग्रेस पार्टीले भाडामा लिएको र मुम्बईतर्फ गइरहेको स्रोतले जनाएको छ ।

दुर्घटनाको आधिकारिक कारण अहिलेसम्म पत्ता लागेको छैन यद्देपी स्थानीय मिडियाले दुर्घटनाको समयमा यस क्षेत्रमा घना कुहिरो लागिरहेकोले दुर्घटना भएको रिर्पोट गरेका छन् ।