महोत्तरी, असोज १५ गते । बर्दिवास–१ की एकल महिला भद्रकुमारी फुँयाल दृढ सङ्कल्प, कामको निरन्तरता र समर्पणले मान्छेलाई कसरी सफलतामा पु¥याउँ भन्ने उदाहरण बन्नुभएको छ । यहाँ गीता नामले चिनिने भद्रकुमारीको मेहनत र लगनले उहाँको परिवारमा अभाव र गरिबी मात्रै हटेको छैन, परिवार पनि सुशिक्षित बनेको छ ।
एघार वर्षअघि पति खिन्तप्रसाद फुँयाल (मनोज) को आकस्मिक निधन हुँदा आफूले एक्लै उभिने र बाँच्ने सपना नै नदेखेको स्मरण गर्नुहुन्छ उहाँ । आफूमात्रै होइन तीन लालाबालाको दायित्व पनि एक्लैले सम्हाल्नुपर्ने भएपछि उहाँ निकै आत्तिनुभएको थियो । “न टेक्ने लौरो, न समाउने ठाउँ भनेजस्तै सहारा कोही थिएन”, गीता भन्नुहुन्छ, “खै, कुन प्रेरणाले पो उठ्ने जाँगर दियो ! मन समालेर आँखाका आँसु पुछेँ, जुरुक्क उठेँ, मनमा तैँले केही गर्नैपर्छ भन्ने सङ्कल्प पलायो ।”
श्रीमान्को मृत्यु भएका बेला दुई छोरा र एक छोरीसहित तीन लालाबाला हुर्काउनुपर्छ भन्ने चेतले त्यसैवर्ष पूर्वपश्चिम राजमार्गको सडकपेटीमा थोरै पुँजीमा फलपूmल पसल सुरु गरेको गीताले सुनाउनुभयो । त्यही पेसा पसल आफ्नो जिउने आधार बनेको उहाँको भनाइ छ । “विपत््का बेला गरेको अठोटले निरन्तर काममा जुट्न हौसला दियो । त्यसयता दैनिक गुजाराका लागि चिन्ता गर्नुपरेन । परोपकारी सामाजिक कार्यमा लाग्न, छोराछोरीको समुचित लालनपालन र शिक्षादीक्षाका लागि कसैका सामु हात फैलाउनु परेन । श्रीमान्को मृत्युसँगै ११ वर्षअघि सुरु गरेको फलपूmल पसलले सबै कुरा दियो”, गीताले भन्नुभयो ।
शोकलाई शक्तिमा बदल्ने अठोट नलिए आफ्नो मात्रै होइन तीन सन्तानको भविष्य पनि अन्धकार हुने कुराले नै आफूलाई केही गर्ने जाँगर लागेको उहाँको कथन छ । “पति वियोगका प्रारम्भिक दिनका सङ्घर्ष कहालीलाग्दा थिए तर म हतासिएन, सम्भालिदै अघि बढेँ । आफ्नोभन्दा पनि सन्तानको मायाले धेरै कुरा गर्नु सिकाउँदो रहेछ । त्यही कारण सुरु गरेको कामबाट सन्तुष्ट छु, हाल अभाव भनेर खुट्याउने केही कुरा छैन । कुनैबेला दुई÷चार रुपैयाँका लागि फैलाउनु परेको हातले अहिले विपद् र दुःखमा परेकालाई केही दिन पाएको छ”, विगत स्मरण गर्दै उहाँले भन्नुभयो ।
आमा गीताले शोकमा गरेको सङ्कल्पबाट स्थापित व्यापारको कमाइले गीताका छोराहरूमध्ये एक जना क्यानाडा र अर्को अष्ट्रेलियामा उच्च शिक्षा लिदैछन् । छोरी काठमाडौँमा कम्प्युटर इञ्जिनियरिङ पढ्दै हुनुहुन्छ । “सहज जीवनयापन, छोराछोरीको राम्रो शिक्षादीक्षाको प्रबन्ध गर्नुका साथै समस्यामा परेकालाई थोरै भए सरसापट दिन पाउनु नै एउटा एकल आमाका लागि सफलता कुरा नै हो । माग्नु सबैभन्दा निरीह कुरा रहेछ भन्ने आफ्नै भोगाइबाट बुझेकी छु, त्यसैले कोही सरसहयोगका लागि आइपुगे त्यसै फर्काउन मनले मान्दैन, केही न केही दिएर पठाउँ भन्ने लाग्छ”, उहाँ भन्नुहुन्छ ।
उहाँले अनाथ बालबालिका तथा सहयोगापेक्षी मानव व्यवस्थापनका लागि बर्दिवास–२ मा बन्न लागेको ‘हाम्रो मायाघर’ का लागि पाँच धुर जग्गा र रु ५१ हजार नगद सहयोग गर्नुभएको छ । “दिएको कुरा कसैले थाहा नपाउन् भन्छन्, मैले यति दिएँ भन्न होइन, सोचेजति सामाजिक काम अझै गर्न पाएकी छैन । पछिल्लो समय छोराछोरीको उच्च शिक्षामा लगानी गर्नुपर्दा हाल सामाजिक काममा सहयोग गर्न पाएकी छैन । अलि सहज भएमा आगामी दिनमा परोपकारका काम गर्ने निकै रहर छ”, फुँयालले आफ्नो योजना सुनाउनुभयो ।
बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्का सङ्घर्ष र सफलताकी उदाहरण बन्नुभएकी एकल महिला फुँयालबाट अन्य महिलाले पनि प्रेरणा लिनुपर्ने बताउनुहुन्छ । “दुःख त सबैलाई पर्छ नै तर त्यसको सामना कसरी गर्ने भन्ने कुरा हामी सबैले उहाँबाट सिक्नुपर्छ । शोकलाई शक्तिमा बल्न मेहनत गरेमा पक्कै पनि एकदिन सफलता प्राप्त हुन्छ, यसको उदाहरण पनि हो उहाँ”, खड्काले भन्नुभयो ।