फाइल तस्वीर
पर्सा, असोज १५ गते । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । गत आवको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ३० दशमलव ६१ प्रतिशतले घटेको हो ।

चालु आवको भदौसम्म ९६ करोड ३२ लाख ५६ हजार रुपैयाँ बराबरको दुई करोड ६३ लाख ३४ हजार सात सय ९० किलो धान आयात भएको छ । गत आवको सोही अवधिमा एक अर्ब ३१ करोड २९ लाख १० हजार रुपैयाँको तीन करोड ७९ लाख ५१ हजार पाँच सय ६६ किलो धान आयात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवको तुलनामा चालु आवमा धान र चामलको आयातमा केही कमी आएको बताउनुभयो । चालु आवको भदौ मसान्तसम्ममा कनिका आयातमा पनि कमी आएको छ । 

चालु आवको भदौ मसान्तसम्ममा २२ करोड १७ लाख २८ हजारको १६ लाख ८८ हजार नौ सय किलो चामल तथा कनिका आयात भएको छ । गत आवको सोही अवधिमा २६ करोड पाँच लाख २७ हजारको २२ लाख तीन हजार नौ सय किलो चामल तथा कनिका आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा २३ दशमलव ३७ प्रतिशतले चामल तथा कनिकाको आयात घटेको हो ।

चालु आवमा दुई महिनामा मकैको आयात पनि घटेको छ । भदौ मसान्तसम्ममा ६१ करोड २४ लाख ७८ हजारको एक करोड ५० लाख ३८ हजार किलो मकै आयात भएको छ । गत आवको सोही अवधिमा ६७ करोड ९७ लाख ६२ हजारको एक करोड ८६ लाख ९१ हजार सात सय १४ किलो मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयात १९ दशमलव ५५ प्रतिशतले घटेको हो ।