झापा, असोज १४ गते । जिल्लाको विर्तामोड नगरपालिका–१० ठुटेबरमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिश न्यौपानेको मृत्यु भएको छ । गएराति बिर्तामोड नगरपालिकाको बिर्ता बजारबाट सैनिक बजारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्रीलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो ।

उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएको न्यौपानेको आज बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३८ वर्षीय टिकाराम रायको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

मेची नदीको बीचमा शव भेटियो

भद्रपुर नगरपालिका–३ झोलुङ्गे पुलस्थित मेची नदीको बीच भागमा एक व्यक्तिको शव भेटिएको छ । प्रनाउ चन्दका अनुसार कालो पाइन्ट लगाएको, शरीरको माथिल्लो भागको कपडा नभएको आधा शरीर पुरिएको घोप्टो अवस्थामा शव फेला परेको बताउनुभयो । 

प्रहरीका अनुसार उक्त शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।