विराटनगर, असोज १४ गते । विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर–८ बाट पाइपलाइन विस्तार परीक्षण सुरु गरिएको छ । जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा बृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ । उक्त परियोजनाको लागत दुई अर्ब ५४ करोड छ ।

परियोजनाका इन्जिनियर अरविन्द कर्णका अनुसार परीक्षणका क्रममा दुई–तीन वटा पाइप बिछ्याएर पुरिनेछ । त्यसपछि आवतजावतमा समस्या हुने नहुने, पाइपको सुरक्षाको अवस्थालगायत तोकिएको मापदण्ड हेरिनेछ । सबै परीक्षण पूरा गरेपछि औपचारिक रुपमा पाइपलाइन विस्तार गरिने कर्णले जानकारी दिनुभयो ।

जाइकाको खानेपानी परियोजना छिटो सम्पत्र गरी शुद्ध खानेपानी प्रयोग गर्न वडावासी आतुर रहेको वडा नं ८ का वडाध्यक्ष राम पोखरेलले बताउनुभयो । महानगर प्रमुख नागेश कोइरालाले विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता छिट्टै पूरा हुने बताउनुभयो ।

विराटनगरमा खानेपानी संस्थान अन्तर्गतका संरचनाको सुधार गर्ने, खानेपानीका ‘ओभरहेड’ ट्याङ्की, पाइपलाइन र फिल्टरहरू थप गर्ने योजनाअनुसार खानेपानी सुधार आयोजना सञ्चालनमा ल्याइने जनाइएको छ ।

उक्त आयोजना सन् २०२६ सम्ममा सम्पत्र गर्ने लक्ष्य लिइएको छ । खानेपानी आयोजनाले एक लाखभन्दा बढी महानगरवासी लाभान्वित हुनेछन् ।