तनहु, असोज १४ गते। म्याग्दे गाउँपालिकाले दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गरेको छ । कृषि उपजलाई भण्डारण गर्न सहज बनाउने उद्देश्यले म्याग्दे–३ मा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

सुरुमा रु २ करोड र चालु आर्थिक वर्षमा रु १ करोड २० लाखको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । यो गाउँपालिकामा विशेषगरी सुन्तला र आलुखेतीका लागि प्रख्यात मानिन्छ । चिस्यान केन्द्र बनेपछि लामो दूरी, महँगो ढुवानी र शुल्क तिर्नबाट छुटकारा पाएपछि कृषक उत्साहित भएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

“कृषि उपज भण्डारण गर्दा कृषकसँग न्यूनतम शुल्क लिएर प्रोत्साहन गर्न लागिएको छ”, उहाँले भन्नुभयो, “गाउँपालिकामा चिस्यान केन्द्र बनेपछि उत्पादन भएका कृषि उपज भण्डारणका लागि पोखरा र चितवन जानुपर्ने बाध्यता हटेको छ ।”

ल्यान्डफिल साइट निर्माण

त्यसैगरी, गाउँपालिकाले वडा नं २ स्थित बहपुरमा व्यवस्थित ल्यान्डफिल साइट निर्माण गरिएको छ । सङ्घीय सरकारको रु दुई करोड लगानीमा करिब २४ रोपनी जग्गा खरिद गरी ल्यान्डफिल साइट निर्माण गरिएको हो । बहुवर्षीय योजनाअन्तर्गत पहिलो वर्ष रु एक करोड ४० लाखको लागतमा निर्माण गरिएको हो । उक्त स्थानमा ल्यान्डफिल साइट सञ्चालनमा ल्याएपछि छिमेकी पालिका शुक्लागण्डकी र व्यास नगरपालिकाको फोहरमैलालाई समेत व्यवस्थित गर्न सकिने सो गाउँपालिकाले जनाएको छ ।

कुहिने फोहरलाई प्राङ्गारिक मल बनाउने र नकुहिने वस्तुलाई पुनः प्रयोगमा ल्याइने गरी व्यवस्थित गर्न लागिएको हो । गाउँपालिकाले अन्य पालिकासँग सम्झौता गरेर शुल्क लिएर फोहरमैला व्यवस्था गर्न सकिने गाउँपालिकाका उपप्रमुख बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । उक्त स्थानमा उत्पादन गरेको प्राङ्गारिक मल प्रयोग गरी सोही स्थानमा व्यावसायिक सुन्तलाखेती गर्ने योजनासमेत रहेको उहाँले बताउनुभयो ।