लुम्बिनी, असोज १४ गते । लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुनसक्ने सम्भावित क्षतिलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशमा तीन दिनको अविरल वर्षाका कारण तुलनात्मक रुपमा क्षति कम भएपनि देशभर मानवीय र भौतिक क्षति बढी भएकोमा दुःख व्यक्त गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले विपद् अघि, विपद्को समय र पछिको अवस्थामा सबै निकायबाट हुने सहकार्यले सम्भावित घटना कम गर्न मद्दत पुग्ने भएकाले सबै संयन्त्र परिचालनमा जोड दिइएको भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले जानकारी दिनुभयो ।

बैठकले नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा सडक पूर्वाधार विकास कार्यालय खोल्ने निर्णय गरेको छ । यसअघि प्रदेशका ११ जिल्लामा सडक पूर्वाधार कार्यालयबाट सेवा प्रवाह भइरहेको छ । 

मन्त्री ढकालका अनुसार लुम्बिनी प्रदेशमा सरुवा भएर आएका सचिवहरुको जिम्मेवारी तोक्ने समेत आजको बैठकले निर्णय गरेको छ । जसअनुसार भिमार्जुन पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, भुपेन्द्र थापालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र ईश्वरराज पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी तोक्ने निर्णय गरेको हो । साथै प्रदेश राजपत्र तथा कानुनहरुको सम्पादन  र प्रकाशन नियमावली २०८१ स्वीकृत गर्ने बैठकले निर्णय गरेको छ ।