रोम, असोज १३ गते । विश्व खाद्य कार्यक्रमले लेबनानमा जारी द्वन्द्वबाट प्रभावित १० लाख मानिसलाई खाना उपलब्ध गराउन आपतकालीन अभियान सञ्चालन गरेको जनाएको छ । रोमस्थित एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो सप्ताह अन्तमा जारी द्वन्द्वले तत्काल मानवीय प्रतिक्रियाको आवश्यकतालाई जोड दिएको छ । यसले देशभरका आश्रयस्थलहरूमा तयारी खानाका लागि खाद्यान्न, रोटी, ताजा खाना र तयारी खानाका पोकाहरू वितरण गरिरहेको छ ।

बेरुतको बाहिर क्षेत्रमा भएको बम आक्रमणमा इरान समर्थित समूहका नेता हसन नसरल्लाह मारिएको दुई दिनपछि इजरायलले लेबनानको हिजबुल्लाहका दर्जनाआश्रयस्थललाई लक्षित गरी थप हवाई आक्रमण गरिरहेको आइतबार जनाएको छ । सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनको सहयोगी हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेपछि इजरायल र हिजबुल्लाहबीच करिब एक वर्षयता सीमापार गोली हानाहान हुँदै आएको थियो ।

डब्लुएफपीका अनुसार लेबनानमा भएको बम विस्फोटले ‘सञ्चित सङ्कटको बोझले थिचिएको जनसङ्ख्याको समस्यालाई अझ जटिल बनाएको छ ।” लेबनानका लागि डब्लुएफपीका निर्देशक म्याथ्यु होलिङवर्थले भन्नुभयो, “डब्लुएफपीको सहयोग केही दिनमै हजारौँ नयाँ विस्थापितबीच पुगेको छ ।

“सङ्कट गहिरिँदै जाँदा हामीले नगद र खाद्यान्नको मिश्रणबाट १० लाख मानिसलाई सहयोग गर्ने तयारी गरिरहेका छौं,” उहाँले भन्नुभयो । “अन्तर्राष्ट्रिय समुदायलाई १० करोड ५० लाख अमेरिकी डलर परिचालन गरी वर्षको अन्त्यसम्म सञ्चालनका लागि सहयोग गर्न आह्वान गर्दछौं,”उहाँले अगाडि भन्नुभयो। डब्लुएफपीका क्षेत्रीय निर्देशक कोरिन फ्लेशरले लेबनान समस्याको एउटा केन्द्रविन्दु र अर्को युद्ध सहन नसक्ने बताउनुभयो ।