विराटनगर, असोज ११ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश समृद्धिको महत्वपूर्ण आधार पर्यटन र पूर्वाधार हुने बताउनुभएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘पर्यटन वर्ष २०८२ घोषणासभा’ को उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको सीमासँग जोडिएका दुई ठूला देश भारत र चीनका पर्यटक नेपाल भित्र्याउन सके राष्ट्रिय पुँजीको निर्माण हुने उल्लेख गर्नुहुँदै विसं २०८२ लाई प्रदेश सरकारले पर्यटन वर्षका रूपमा घोषणा गरेको जानकारी दिनुभयो ।
उहाँले नेपालको कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको उल्लेखनीय योगदान रहेकाले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बतानुभयो । “सिङ्गो नेपालले पर्यटनमा प्रचुर सम्भावना बोकेको छ । कोशी प्रदेशमा त विश्वकै सर्वोच्च शिखर सगरमाथा जस्तै अन्य हिमाल, पहाड र तराईको सम्मिश्रण रहेको छ । यो प्रदेश धार्मिक, भौगौलिक, सांस्कृतिक र सम्पदाका हिसाबले पनि महत्वपूर्ण भएकाले सरकारले यसलाई अवसरको रूपमा लिएर काम गरिरहेको छ । यसमा निजी क्षेत्रको साथ र सहयोगको अपेक्षा छ”, मुख्यमन्त्री कार्कीले भन्नुभयो ।
भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले प्राकृतिक सौन्दर्य, धामिकस्थल, भौगोलिक एवं सांस्कृतिक विविधता रहेको उल्लेख गर्नुहुँदै यसैकारढा पर्यटनसँगै पूर्वाधार विकासमा सरकारले जोड दिइरहेको धारणा राख्नुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी, सामाजिक विकासमन्त्री पाँचकर्ण राईसहित विभिन्न मन्त्रालयका सचिव, नेपाल उद्योग वाणिज्य सङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतलगायतले पर्यटन वर्ष २०८२ लाई सफल बनाउन निजी क्षेत्र र सरकार हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।