तनहुँ, असोज ११ गते । पछिल्लो समय निकै चर्चित ठाउँ हो– आँबुखैरेनीको ऐनापहरा । आँबुखैरेनी गाउँपालिका–२ स्थित पृथ्वीराजमार्गसँगै जोडिएको ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल बनिरहेको छ ।

व्यास –५ मानुङकोट केही समययता निकै चर्चित गन्तव्यस्थल हो । यहाँबाट देखिने कुहिरो र सूर्योदयको दृश्य हेर्न हजारौँ पर्यटक यहाँ आएको तथ्याङ्क छ । विशेषगरी जाडो मौसममा मानुङकोटमा पर्यटकको बाक्लो उपस्थिति रहन्छ ।

पर्यटकीय नगरी बन्दीपुर त विदेशी तथा स्वदेशीको आकर्षक गन्तव्यस्थलका रूपमा विकास भइसकेको छ । यहाँ देशका विभिन्न जिल्लाका अलवा विदेशबाट पनि पर्यटक आउने गरेका छन् । यी त केही उदाहरण हुन् । तनहुँमा रहेका विभिन्न पर्यटकीय गन्तव्यस्थलले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुुर्याएको छ । त्यस्तै केही पर्यटकीय गन्तव्यस्थल भने अझै ओझेलमा छन् ।

आँबुखैरेनी गाउँपालिकाले ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउन पूर्वाधार निर्माण गरेको छ । झरना झरेको ठाउँमा ढुङ्गा खोपेर गणेशको आकृति बनाइएको छ । जसले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गरेको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिएको जानकारी दिनुभयो । चुमानले भन्नुभयो, “यसै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको हो ।” झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छभने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणको कामलाई अगाडि बढाइएको चुमानले बताउनुभयो । ऐनापहरामा उद्यान निर्माणका लागि गत आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको थियो । गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिङ, सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ । 

व्यास –५ मानुङकोट कुहिरो र सूर्योदय हेर्ने गन्तव्यस्थलका रूपमा परिचित छ । चिसो मौसम सुरु हुन लागेसँगै मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थलिसकेको स्थानीय अनिल अधिकारीले जानकारी दिनुभयो । बिहानको घामको किरण, कुहिरोले सर्लक्क ढाकेको दमौली बजार । निकै आनन्द देखिने दृश्य त्यो पनि सदरमुकामबाट नजिकैको डाँडाबाट । दमौली बजारलाई कुहिरोले ढाकेको छ । त्यही कुहिरोले ढाकेको दृश्य र सूर्योदय अवलोकन गर्न मानुङकोट पर्यटक उक्लिने गरेका छन् । जाडो महिनामा मानुङकोटमा पर्यटककको राम्रो चहलपहल हुने वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । मानुङकोटबाट धवलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल बन्दीपुरका आकर्षक हुन् । सुन्दर हिमशृङ्खलाको अवलोकनका साथै सूर्यास्तको दृश्य हेर्न र स्थानीय नेवारी कला संस्कृतिसँग रम्न पाइने भएका कारण पर्यटकको पहिलो रोजाइमा बन्दीपुर पर्ने गरेको होटल व्यवसायी वैश गुरुङ बताउनुहुन्छ ।

बन्दीपुर घुम्न आउने पर्यटकलाई आकर्षित गर्न यहाँ सुविधासम्पन्न होटल छन् । बन्दीपुर आउने पर्यटक यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुने गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो । बन्दीपुरका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको स्थानीय राजु बानियाँ बताउनुहुन्छ । काठका बुट्टा कँुदिएका झ्याल तथा ढोका, इँटाबाहिर देखिने प्यागोडा शैलीका घर बन्दीपुरको मुख्य आकर्षणको रुपमा रहेको उहाँ बताउनुहुन्छ ।

अठारौँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरूले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेको स्थानीय बताउँछन् । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दीपुर बजारमा भएका पुराना घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउन निषेध गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । 

गाउँपालिकाले बन्दीपुर रिङरोडभित्र र रिङरोड बाहिर पाँच सय मिटर क्षेत्रलाई संरक्षित उपक्षेत्र घोषणा गरेको छ । यस क्षेत्रभित्र घर बनाउँदा बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड २०७२ का साथै गाउँपालिकाले बनाएका केही नियम पालना गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । जिल्लाको व्यास नगरपालिकास्थित ऐतिहासिक तनहुँसुर, व्यासगुफा, गलेखामकोट, छाब्दीवाराही, भानुको चुँदीरम्घा, शुक्लागण्डकी नगरपालिकाको दगाम, ढोरवाराही मन्दिर, मुक्तिनाथ च्वयनधाम, म्याग्देको ट्री हाउस, अकला मन्दिर जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यस्थल हुन् ।