काठमाडौँ, असोज १० गते । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा प्रवासी नेपालीले औपचारिक माध्यमबाट नेपालमा पठाउने रकम १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्समार्फत भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १८ प्रतिशतले वृद्धि भएको हो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३६ हजार ९ सय २८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६ सय ४७ जना रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो संख्या क्रमशः ३९ हजार १ सय ५२ र १६ हजार ४ सय २३ जना रहेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ४८ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब २८ अर्ब २१ करोड रहेको थियो।