काठमाडौँ, असोज १० गते । त्रिभुवन विश्वविद्यालयमा आठवटा सङ्कायका डीन, सेरिडको निर्देशक, सहनियन्त्रक र क्याम्पस प्रमुख पदमा २ सय ७१ जनाले आवेदन दिएका छन् । आवेदन दिएकामध्ये सबैभन्दा बढी सहपरीक्षा नियन्त्रक र क्याम्पस प्रमुखमा छन् । ६ जना सहपरीक्षा नियन्त्रकका लागि ६८ जनाले आवेदन दिएका छन् ।

त्रिविले मुख्यालयमा २ र प्रादेशिक पनिकाका लागि ४ गरी ६ जनाको आवेदन मागेको थियो । सहपरीक्षा नियन्त्रकका लागि रजिस्टारको संयोजकत्वमा गठित समितिले छनौट गर्ने छ । अधिकांश एक पदका लागि कम्तीमा पनि ६ भन्दा बढीले आवेदन दिएका छन् ।

क्याम्पस प्रमुखको हकमा जुम्ला क्याम्पसमा १ जनाले मात्र आवेदन दिएका छन् । त्रिविका अनुसार ८ वटा संकायको डीन पदका लागि ६३ जनाले आवेदन दिएका छन् । चिकित्सा शिक्षा संकायमा १३, इन्जिनियरिङ संकायमा ११, कृषि तथा पशुविज्ञान संकायमा ५, वन विज्ञान संकायमा ८, व्यवस्थापन संकायमा ६, विज्ञान तथा प्रविधि संकायमा १२ र मानविकी संकायमा ८ र शिक्षा संकायमा जनाले आवेदन दिएका छन् ।

त्यसमध्ये मानविकी तथा समाजिक संकायमा सर्टलिस्टमा ५ जनाको नाम छनौट भएको छ । पहिलो नम्बरमा प्राडा ताराप्रसाद भुषाल हुनुहुन्छ । त्यसपछि प्राडा दुवीनन्द ढकाल, प्राडा धु्रवबहादुर कार्की, प्राडा रामकृष्ण तिवारी र प्राडा सञ्जय आचार्य रहनुभएको छ । त्रिविका अनुसार उपकुलपतिको अध्यक्षतामा रहेको समितिले डीन र कार्यकारी निर्देशक छनौट गर्ने व्यवस्था गरेको छ । भने सहपरीक्षा नियन्त्रक रजिस्टारको समितिले छनौट गर्ने छ ।

त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को नियम १७५ (२) अनुसार नियुक्तिको आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद २ मा उल्लेख भएबमोजिम त्रिविका अध्ययन संस्थान संकायका डीन, विनियमको परिच्छेद ४ को विनियम ७ बमोजिम सेरिडको कार्यकारी निर्देशक र विनियमको परिच्छेद १० को विनियम १९ बमोजिम योजना निर्देशनालयको निर्देशक पदका लागि आवेदन माग गरेको थियो ।

त्यस्तै,सेरिडको कार्यकारी निर्देशकमा ८, उपकुलपति कार्यालय मातहतमा हुने योजना निर्देशनालयको निर्देशकमा ८ जनाले आवेदन दिनुभएको छ ।

त्रिविमा १७ क्याम्पस प्रमुखको पदमा १ सय १६ जनाले आवेदन दिएका छन । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय क्याम्पस प्रमुख छनौट समितिले सूचना जारी गर्दै आवेदन माग गरेको थियो । क्याम्पस प्रमुख भने शिक्षाध्यक्षको कार्यालयले छनौट गर्ने गरेको छ ।

तीमध्ये सानोठिमी क्याम्पस प्रमुखमा ११, ललितकला प्रमुखमा ५, भैरहवा बहुमुखी क्याम्पसमा १३, सिरहा क्याम्पसमा ४, पृथ्वीनारायण क्याम्पसका लागि ९ जना, पाटन संयुक्त क्याम्पसमा १७, रत्नराज्य क्याम्पसमा ६, बुटवल क्यम्पसमा ५, रारा जनकपुर क्याम्पसमा ११, त्रिभुवन क्याम्पस पाल्पामा ३, डोटी क्याम्पसमा २, विश्वभाषामा ४, जुम्लामा १, सुर्खेत ७, वीरेन्द्र बहुमुखी चितवनमा ३, महेन्द्र बहुमुखी नेपालगञ्जमा ११, भोजपुर बहुमुखी क्याम्पसमा ४ जनाले आवेदन दिएका छन् ।

त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ५२ को नियम १८५(२) साथै त्रिभुवन विश्वविद्यालय विभिन्न पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम,२०८१को परिच्छेद १० बमोजिम त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा रिक्त र निकट भविष्यमा रिक्त हुने क्याम्पस प्रमुख पदका लागि आवेदन माग गरेको थियो ।

त्रिविले सबै उम्मेदवारलाई एक साताभित्र आवेदन दिन सूचना जारी गरेको थियो । आवेदन दिएका सबै त्रिविमा कार्यरत शिक्षक र कर्मचारी रहेका छन् ।

सबै नियुक्ति खुला प्रतिष्पर्धाबाट गर्न माग

सबै पदमा पदपूर्ति गर्न सर्टलिस्ट निकाल्ने तयारी भइरहेको अवस्थामा संयुक्त विद्यार्थी संघर्ष समितिले उपकुलपति कार्यालयमा विरोध सभा आयोजना गरेको छ । नेविसंघ, अखिल, समाजवादी विद्यार्थी संगठनलगायत सरकार आवद्ध दलले विरोध सभा आयोजना गरेका हुन् ।

उपकुलपति कार्यालयको प्रवेशद्वारमा मेरिटोक्रेसीको अर्थ योग्यताक्रम हुन्छ कि वर्णानुक्रम ? लेखिएको ब्यानरसहित विरोध सभा आयोजना गरेको समितिले सबै नियुक्ति खुला प्रतिष्पर्धाबाट गर्न आग्रह गरेको छ । संघर्ष समितिले विश्वविद्यालयमा राजनीति भागबण्डा अन्त्य गर्न, मेरिटोक्रेसीको नाममा परीक्षा दिएर वर्णानुक्रम सिफारिस गर्ने र आर्थिक लेनदेनमा किनबेच गर्न लागेको आरोप लगाउँदै विरोध सभा गरेको हो । (आजको नेपाल समाचारपत्र दैनिकबाट)