काठमाडौँ, असोज ९ गते । अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसिसीले)ले सार्वजनिक गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । आइसिसीको नयाँ वरियताका अनुसार नेपाल एक स्थान तल झर्दै १७औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १६औँ स्थानमा थियो । क्यानडामा भएको आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमान र क्यानडाविरूद्धको खेलमा नेपाल जितविहीन बनेको थियो ।

नेपालभन्दा तल नामिबिया १८औँ स्थानमा छ भने ओमान १९औँ स्थानमा छ । त्यसैगरी संयुक्त अरब इमिरेट्स (युएई) २०औँ स्थानमा छ । यसैगरी नेपालभन्दा माथि अमेरिका रहेको छ । अमेरिकाले एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लेको हो । क्यानडाले चार स्थान सुधार गर्दै १५औं स्थानमा पुग्यो ।

नयाँ वरियताअनुसार भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो तथा दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । त्यसैगरी पाकिस्तान चौथो, न्यूजील्याण्ड पाँचौँ, श्रीलङ्का छैटौँ, इङ्ग्ल्याण्ड सातौँ, बङ्गलादेश आठौँ, अफगानिस्तान नवौँ र वेस्ट इन्डिज दशाँै स्थानमा छ । स्कटल्यान्ड एघार, आयरल्यान्ड बाह्र, जिम्बाब्बे तेह्र र नेदरल्याण्ड्स चौधौँ स्थानमा छ । 

त्यसैगरी आइसिसीले जारी गरेको ‘अलराउन्डर’तर्फको वरियतामा नेपालका सन्दीप लामिछाने २२ स्थान सुधार गर्दै ४१औँ स्थानमा उक्लिएका छन् । अलराउन्डरतर्फ नै तीव्र गतिका बलर करण केसीले ११ स्थान सुधार गर्दै ७६औँ स्थानमा उक्लिएका छन् । अर्का तीव्र गतिका बलर गुलसन झा १३ स्थान सुधार गर्दै ९१औँ स्थानमा उक्लिएका छन् ।

अलराउन्डर वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४८औँ, कुशल मल्ल ५१औँ तथा सोमपाल कामी ५३औँ स्थानमा छन् । आइसिसीले जारी गरेको बलिङतर्फको वरियतामा भने सन्दीप ४८औँ स्थानमा यथावत् रहेका छन् । करणले चार स्थान सुधार गर्दै ८७औँ स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फको वरियतामा आसिफ शेख ११ स्थान तल झर्दै ७९औँ स्थानमा पुगेका छन् । यसैगरी कुशल भुर्तेल चार स्थान तल झर्दै ८०औँ स्थानमा रहेका छन् ।