लुम्बिनी, ८ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देशमा सुशासन कायम गर्नका लागि राजनीतिक नेतृत्वमा इमान्दारिता चाहिने बताउनुभएको छ ।

लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बुटवलमा आयोजना गरेको सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक कार्ययोजनाको मस्यौदामाथिको छलफलमा उहाँले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न राजनीतिक नेतृत्वमा इमानदारिता जरुरी पर्ने बताउनुभयो ।

“राजनीतिक नेतृत्व सच्चिन र सुध्रिन जरुरी छ । नियत बेठीक छैनभने ‘ब्यूरोक्रायट’ले पनि साथ दिन्छ । मैले साथ पाइरहेको छु । जुन कार्ययोजना अघि बढाएको छु, त्यसमा मैले पूर्ण साथ सहयोग पाएको छु । उत्साह बढिरहेको छ”, उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्वमा समस्याहरू छन् । सबै कुरा सुधारेर लैजान सकिन्छ । त्यो आँट छ । त्यो आँटका साथ प्रदेश सरकार अघि बढिरहेको छ ।”

कार्यक्रममा गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, नवलपरासी पश्चिम, कपिलवस्तुका जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यवसायीलगायत सरोकारवाला पक्षको सहभागिता थियो ।

लुम्बिनी प्रदेश सरकारले सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक कार्ययोजनाको मस्यौदामाथि छलफल सुरु गरेको हो ।