विद्यार्थीलाई झोला वितरण गरिंदै ।
खोटाङ, असोज ७ गते ।
यहाँको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका एक युवा विनोद राईले आफ्नो गाउँपालिकाका सबै विद्यार्थीलाई उपहारस्वरुप झोला वितरण अभियान शुरु गर्नुभएको छ । उहाँले गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालय ९४९ वटा०मा अध्ययनरत विद्यार्थीलाई उपहारस्वरुप झोला वितरण अभियान शुरु गर्नुभएको हो ।

उहाँले हालसम्म चारवटा विद्यालयका तीन सय ५४ विद्यार्थीलाई झोला वितरण गरिसक्नुभएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित श्रीदेवी आधारभूत विद्यालय खमारेका ६५, वडा नं–६ छितापोखरीस्थित जनसेवा माध्यमिक विद्यालयका एक सय २९, वडा नं–७ टेम्मास्थित शान्ति माध्यमिक विद्यालयका एक सय ३० र सोही वडाको आदर्श सदन आधारभूत विद्यालयका ३० विद्यार्थीलाई वितरण गर्नुभएको हो ।

राईले सम्बन्धित विद्यालयमै पुगेर उपहारस्वरुप झोला उपलब्ध गराएपछि विद्यार्थीसमेत हर्षित भएका छन् । व्यक्तिगत खर्चमा झोला खरिद गरेर बाल विकास केन्द्रदेखि कक्षा–१० सम्म अध्ययन गर्ने विद्यार्थीका लागि वितरण गर्दै आउनुभएका राईलाई सम्बन्धित विद्यालयले सम्मान गरेको छ ।

झोला अभावमा हातमा किताब÷कापी बोकेर हिँड्न बाध्य विद्यार्थीलाई लक्षित गर्दै आफ्नो व्यक्तिगत खर्चमा उपहारस्वरुप झोला प्रदान गर्ने अभियान शुरु गरेको उहाँले बताउनुभएको छ । “सानोमा दुई घण्टा हिँडेर स्कूल धाउन पथ्र्यो । हातमा किताब बोक्नुपर्ने, साउनको बेला लड्दा खेतमा किताब खसेर भिजेको थियो”, उहाँँले भन्नुभयो, “किताब/कापी, डटपेन हराउने समस्या बेहोरेका थियौँ । त्यही बिगत सम्झिएर विद्यार्थीलाई झोला वितरण गरेको हुँ ।”

विसं २०८४ सालसम्ममा गाउँपालिकाभरीका सबै माध्यमिक तहका विद्यालयमा अध्ययनरत छात्र÷छात्रालाई झोला वितरण गर्ने लक्ष्य रहेको राईले जानकारी दिनुभयो । विद्यार्थीलाई सामाजिक सेवाको भाव जगाउन पनि झोला वितरण अभियान शुरु गरेको उहाँको भनाइ छ ।

आफ्नो कमाइको २० प्रतिशत सामाजिक काममा खर्च गर्ने घोषणा अन्तर्गत विद्यार्थीलाई झोला वितरण गरेको उहाँले बताउनुभयो । विसं २०५८ साल मङ्सिर १५ गते जनता माध्यमिक विद्यालय भण्डारीडाँडाको विद्यार्थी सङ्गठनको अध्यक्षबाट राजनीति शुरु गर्नुभएका उहाँ काठमाडौँमा रेष्टुरेन्ट तथा काष्ठकला व्यवसाय सञ्चालन गर्नुहुन्छ । रासस