काठमाडौँ, असोज ६ गते । नेपालमा योगा पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले योगा महोत्सव आयोजना गरिने भएको छ । होटल सङ्घ नेपाल (हान)ले यही असोज ३० देखि आगामी कात्तिक ३ गतेसम्म पोखरामा योगा महोत्सव आयोजना गर्न लागेको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पर्यटन प्रवर्धनसम्बन्धी विभिन्न क्रियाकलाप गर्दै आएको सङ्घले अध्यात्मिक पर्यटनमार्फत मुलुकलाई अघि बढाउने उद्देश्यले योगा महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष विनायक शाहले बताउनुभयो । उहाँका अनुसार चार दिने महोत्सवमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त योगा विज्ञको जमघट हुनका साथै उहाँहरुबाट विभिन्न विधामा योगा कक्षा पनि सञ्चालन गरिनेछन् ।

महोत्वमा गुरु श्री अन्तरयोगी चैतन्य केन्द्र प्रकाश थापा ग्रामी नोमिनेटेड मनोज, पिटिर स्टेरियोस र चर्य नृत्य नाज गुरु प्रज्वलरत्न बज्राचार्य जस्ता विशेषज्ञबाट योग ध्यानको कार्यशाला सञ्चालन हुने जनाइएको छ । यसबाट मुलुकको दिगो पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष शाहले बताउनुभयो ।

महोत्सवबाट अन्तर्राष्ट्रिय जगतमा मुलुकको पर्यटनलाई अझ टेवा पुग्ने सङ्घका महासचिव साजन शाक्यले बताउनुभयो । कार्यक्रममा सहभागिताका लागि नेपालीलाई दैनिक रु तीन हजार र विदेशीलाई रु ६ हजार पाँच सय टिकट तोकिएको छ । कार्यक्रममा सेफ एशोसिएसनका निवर्तमान अध्यक्ष श्याम लामाले महोत्सवमा करिब ५० थरीका रैथाने परिकार पस्कने योजना रहेको बताउनुभयो ।