इलाम, असोज ५ गते । कोशी प्रदेशका अर्थमन्त्री राम रानाले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताउनुभएको छ । प्रदेशमा नयाँ सरकार बनेको दुई महिनामा विगतभन्दा २८ प्रतिशत राजस्व वृद्धि भएको र सङ्घमा पनि अवस्था सोहीअनुसार रहेको धारणा राख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्योदय नगर कमिटी इलामको दोस्रो अधिवेशनको उद्घाटन गर्नुहुँदै आज उहाँले कांग्रेस–एमाले मिलेपछि देश स्थिरतातर्फ उन्मुख भएको बताउनुभएको छ । एमालेका केन्द्रीय सदस्य रानाले भन्नुभयो, “विगतमा स्थिर सरकार नहुँदा देशमा विकास निर्माणले गति लिन सकेन । दुई ठूला पार्टीबीच सत्ता सहकार्य भएपछि अब यो सरकार र गठबन्धनलाई कुनै पनि बहानामा काम नगर्ने छुट छैन”, उहाँले भन्नुभयो । 

देशमा साना दलहरूले विचारको राजनीति नगर्दा समस्या भइरहेको रानाको आरोप लगाउनुभयो । “भाषा, धर्म, जातिका नाममा दल बनाएर एउटा समूहलाई सामाजिक सद्भाव भड्काउन लगाउने काम हुन थाल्यो । मोलमोलाइ र किनबेचको स्थिति देखियो । मुलुक त्यसरी बन्दैन भनेर दुई ठूला दल मिल्न बाध्य भएको हौँ । अब सोहीअनुसार काम गरेर प्रमाणित गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा इलाम क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जनताको आसा पूरा गर्नेगरी सरकारले काम गरिरहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार समृद्धिको यात्रामा रहेको र नेपाली कांग्रेसजस्तो पुरानो दलसँगको सहकार्यले काम गर्न थप सहज भएको उहाँको भनाइ थियो । 

एमाले इलामका अध्यक्ष गणेश बराल, उपाध्यक्ष उदयबहादुर राई, सचिव उमेश गुरु, प्रदेश कमिटी सदस्य देवेन्द्र विश्वकर्मालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । दुर्गादेवी भट्टराई नेतृत्वको नगर कमिटी विघटन गरी आज नै नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाइएको सचिव पारस राईले बताउनुभयो ।