काठमाडौँ, असोज ५ गते । लोकसेवा आयोगमा गत वर्ष माग भएका ३ हजार ६ सय ६० पदका लागि प्रतिस्पर्धा गर्न ४ लाख ७३ हजार ४ सय ९० जनाले आवेदन दिएका छन् । लोकसेवा आयोगले गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न पदमा दरखास्त माग गर्दा त्यति ठ्लो संख्यामा आवेदन परेको हो ।

आयोगका अनुसार आयोगले बढुवा तर्फ १ हजार १२, आप्र तर्फ ६२१, खुला प्रतियोगिता तर्फ १ हजार ८० तथा विभिन्न समावेशी पद तर्फ ९ सय ४७ गरी ३ हजार ६ सय ६० रिक्त पदमा विज्ञापनन आब्हान गरेको थियो ।

त्यसरी आवेदन मागिएपछि देशभरबाट परिक्षामा सहभागी हुन ४ लाख ७३ हजार ४ सय ९० जनाले दरखास्त पेश गरेको लोकसेवा आयोगले जनाएको छ ।

आयोगमा यति धेरै दरखास्त पर्नुले मुलुकमा बेरोजगारीको अवस्था भयावह रहेको देखिएको छ । लोकसेवा आयोगका अधिकारीहरु भने आयोग प्रतिको आकर्षणले परिक्षामा सहभागी हुनेहरुको संख्या धेरै भएको दावी गरेका छन् । आयोगमा अघिल्लो वर्ष २०७९/८० मा भने ३ हजार ६ सय ५७ पदका लागि ४ लाख ८३ हजार २ सय ३ जनाले दरखास्त दिएका थिए ।

आयोगका अनुसार सो अवधिमा विभिन्न पदका १ हजार ४ सय ५५ वटा विज्ञापन प्रकाशन गरिएको थियो । सो विज्ञापन अनुसार बढुवा तर्फ १ हजार १२, आन्तरिक प्रतियोगिता तर्फ ६ सय २१ त्था विभिन्न समावेशी पद तर्फ ९ सय ४७ पदमा दरखास्त आब्हान गरिएको थियो ।

सबैभन्दा बढी दरखास्त पर्ने ५ जिल्लामा क्रमश सर्लाही १८,३२८, धनुषा १६,६७३, सप्तरी १६,५१४ , महोत्तरी १५,८३५ र बारा १५४२३ रहेका छन् । त्यसैगरी सबैभन्दा न्यून दरखास्त पर्नेहरुमा मनाङ १०, मुस्ताङ ४९, रसुवा ४५८, रुकुम पूर्व ७३९ र डोल्पा १०२४ जना रहेका छन् ।

यस्तै सुरक्षा निकाय र २६ वटा संगठित संस्थाका १४ हजार ८ सय ५७ पदका लागि ४ लाख ५८ हजार ६ सय ७८ जनाको दरखास्त परेको आयोगले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा निजामती सेवा तर्फ २ हजार ६ सय ८८ जना उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । जसमा ७ सय ४४ पुरुष र १ हजार ९ सय ४४ महिला रहेका छन्। (आजको नेपाल समाचारपत्रबाट)