फाइल तस्वी
हुम्ला, असोज ४ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि खाद्यान्नमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिने भएको छ । हिन्दुहरूको महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएको हो ।

उक्ता शाखाका निमित्त प्रमुख नवीनप्रसाद आचार्यका अनुसार यहाँका नागरिकलाई २५ केजीका छ किसिमका चामल बिक्री गर्दै आएको छभने तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर सात रुपैयाँ छुटमा बिक्री हुने भएको निमित्त प्रमुख आचार्यले बताउनुभयो ।

अरुवा मोटा चामलको एक हजार पाँच सय २५ रुपैयाँ, अरुवा सोना मन्सुली एक हजार सात सय २५ रुपैयाँ, स्टिम जिरामसिनो दुई हजार दुई सय ५० रुपैयाँ मा बिक्री गरिने भएको व्यापार कम्पनीले जनाएको छ । यसअघि अरुवा मोटा चामलको एक हजार छ सय ५० रुपैयाँ, अरुवा सोना मन्सुली एक हजार आठ सय ५० रुपैयाँ, स्टिम जीरा दुई हजार तीन सय ७५ रुपैयाँ मा विक्री वितरण हुँदै आएको थियो ।

पच्चीस केजी बोराका विभिन्न चामलको प्रतिबोराबाट एक सय २५ रुपैयाँ छुटमा बिक्री हुन लागेको हो । यस्तै सूर्यमुखी तेल प्रतिपेटीको दुई हजार दुई सय ३० रुपैयाँ र तोरी तेलको प्रतिपेटी दुई हजार ३० रुपैयाँमा विक्री हुन लागेको हो । सहुलियत मूल्यमा खाद्यान्न विक्री असोज ६ देखि असोज १५ गतेसम्म बिक्री गरिने जनाइएको छ । गत वर्ष पनि उक्त कार्यालयले छुटमा खाद्यान्न बिक्री गरेको थियो । रासस