कञ्चनपुर, असोज ४ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गर्नुभएको छ । खेतको धानमा बाला झुलेका छन् । तर दुई बिघा जमिन खेतीमध्ये आधा क्षेत्रफलको धान हाल ढलेका छन् । पाकेर तयार भएको धान खेतमै ढलेपछि लुहार चिन्तित हुनुहुन्छ ।

गत भदौ अन्तिम साताको अविरल वर्षासँगै आएको हुरीबतासले उहाँको धानखेतीमा क्षति पुर्याएको हो । “वर्षभरिलाई खान पुग्ने धान खेतमा ढल्यो । त्यसमै पानीले गह्रा भरिभराउ छ”, उहाँले भन्नुभयो, “धान काट्नै नसकिने अवस्था छ, आधा खेतको धान काम नलाग्ने भएको छ ।”

हुरीबतास र वर्षाले धानखेतीमा क्षति पुर्याएपछि खानलाई समस्या हुने उहाँको गुनासो छ । उहाँ वर्षभरिलाई खान पुग्ने फसल राखेर बाँकी बिक्री गरेर घरखर्च जोहो गर्दै आउनुभएको थियो । “आम्दानीको स्रोत कृषि नै हो । धान, गहुँखेती गरेर खाने र बाँकी रहेको बेचेर घरखर्च चलाउनु पर्छ”, लुहारले भन्नुभयो, “अब के खाने रु के बेच्ने रु”

भीमदत्त नगरपालिका–११ भुजेलाकै मनोधरी लुहारसँग दुई कट्ठामात्र जमिन छ । त्यसको उब्जाउले खानलाई नपुग्ने हुनाले उहाँ अधियाँ गर्ने गर्नुहुन्छ । गाउँमै अधियाँ गरेको १० कट्ठा जमिनको धानमा क्षति पुगेपछि उहाँलाई के खाने रु भन्ने चिन्ताले पिरोल्न थालेको छ ।

“हुरीले ढलेर खेतमै पानीले धान कुहिसक्यो । न आफ्नो खेतको धान बच्यो, न अधियाँ गरेको खेतकै”, उहाँले भन्नुभयो, “किनेर खान पनि पैसा छैन ।” बर्सेनि वर्षा र हुरीबतासले बालीमा क्षति गर्ने गरेको भए पनि सरकारबाट क्षतिपूर्ति नपाएको उहाँको गुनासो छ ।

अविरल वर्षापछि आएको बाढी र हुरीबतासले कञ्चनपुरमा धानमा क्षति पुर्याएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीका अनुसार दोधारा चाँदनी, भीमदत्त, पुनर्वास, बेलौरीलगायत क्षेत्रका बालीमा बढी क्षति पुगेको छ ।

स्थानीय तहले क्षतिको यकिन विवतरण सङ्कलन गरिरहेको छन् । जिल्लाका विभिन्न ठाउँमा गरेर झण्डै १० प्रतिशत धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रको अनुमान छ । “डुबान, कटान र पटानले बाली क्षति पुगेको छ । यकिन विवरण प्राप्त भएको छैन”, उहाँले भन्नुभयो, “निरीक्षणका क्रममा दोधारा चाँदनीलगायत क्षेत्रमा पटानले खेतको धान पूरै बगर बनाएको पाइएको छ ।” रासस