फाइल तस्वीर
जनकपुरधाम, असोज ३ गते ।
संविधान जारी भएको नौ वर्षपछि मधेश प्रदेश सरकारले औपचारिक रूपमा पहिलो पटक संविधान दिवस मनाएको छ । मधेश प्रदेश सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारीभएदेखि अहिलेसम्म संविधान दिवस नमनाएको अवस्थामा यस यसपटक भने गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा आज बिहीबार बिहान प्रभातफेरि गर्दै संविधान दिवस मनाएको हो ।

संविधान दिवसको अवसरमा आयोगित प्रभातफेरिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ब्याण्डबाजासहित मुख्यमन्त्री सतिशकुमार सिंह, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सांसद, सुरक्षा निकाय प्रमुखलगायतको सहभागिता रहेको थियो । प्रभातफेरीमा कर्मचारी र विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो । जनकपुरधामको रामानन्द चोकबाट सुरु भएको प्रभातफेरि नगरको विभिन्न भागको परिक्रमा सकेर त्यहाँस्थित महेन्द्रनारायण निधि मिथिला संकृति भवनको सभाहलमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सिंहले वर्तमान संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप सुधारको आवश्यकता रहेको उल्लेख गर्नुहुँदै संविधानले सङ्घीयता, लोकतन्त्र र गणतन्त्रलाई ठूला उपलब्धिको रूपमा स्थापित गरेको बताउनुभयो ।

सङ्घीयता आइसकेपछि गाऊँगाऊँमा विकासका कामहरू अघि बढेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकारलाई बलियो बनाए मात्र लोकतन्त्र र गणतन्त्रलाई मजबुत बनाउन सकिने बताउनुभयो । मुख्यमन्त्री सिंहले संविधानमा रहेका असहमतिहरूको सार्थक सम्बोधन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।