दाङ, असोज ३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको बढ्दो आकाङ्क्षालाई सम्बोधन गर्न राजनीतिक दलबीच दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताउनुभएको छ ।

संविधान तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजित मूल समारोहमा मुख्यमन्त्री आचार्यले ‘समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश’ को नारालाई सार्थक बनाउन सबै सरोकार भएका निकायको जिम्मेवारीपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । उहाँले योजना निर्माण र कार्यान्वयनको तहमा अन्य प्रदेशको तुलनामा लुम्बिनी अग्रणी स्थानमा रहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री आचार्यले दीर्घकालीन लक्ष निर्धारण गरेर प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेकाले अन्य प्रदेशको तुलनामा लुम्बिनी अग्रणी स्थानमा रहेको बताउनुभयो । उहाँले प्रदेशका साझा अधिकारअन्तर्गतका कतिपय कानुन नबन्दा कार्यसम्पादनमा केही कठिनाइ भइरहेको उल्लेख गर्नुभयो ।

अत्यावश्यक कानुन सङ्घीय सरकारबाट द्रुतगतिमा निर्माण गर्न प्रदेश सरकारले समन्वय र सहकार्य गरिरहेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो । उहाँले न्यून जनशक्ति, नयाँ स्थानमा प्रदेशको राजधानी व्यवस्थापन, प्रदेशअन्तर्गत गौरवका आयोजनाको सम्पन्नता तथा जनशक्तिको व्यवस्थापनका लागि आवश्यक कानुन तर्जुमा तथा परिमार्जन गर्ने गरी सरकार अघि बढिरहेको स्पष्ट पार्नुभयो । 

प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले संविधानमा उल्लेखित अधिकार कार्यान्वयन गर्न तीन तहका सरकारका बीच आवश्यक समन्वय, सहकार्य र सहअस्तित्वको मर्मलाई आत्मसात् गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले जनमुखी कानुन निर्माण गर्ने र हिजो बनेका कानुनलाई समयसापेक्ष बनाउने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

“संविधानलाई इमानदारी पूर्वक कार्यान्वयन गर्न सबै जुटौँ”, सभामुख मगरले भन्नुभयो, “सबै दलबीचमा सद्भावपूर्ण एकता कायम गरेर अघि बढ्नु आवश्यक छ ।” सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै जनतामा आशा जगाउन सबै एकजुट हुनुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

पूर्वमुख्यमन्त्री जोखबहादुर महराले समतामूलक समाज निर्माण गर्दै समृद्धि हासिल गर्ने आकाङ्क्षा बोकेको संविधानको पूर्ण कार्यान्वयनमा सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानको मूल मर्म सङ्घीयता र एकता भएको बताउनुभयो । उहाँले प्रदेशलाई बलियो बनाउन संविधानको भरपुर उपभोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

झाँकी र प्रभातफेरीको उत्सव

मूल समारोह कार्यक्रमअघि संविधान दिवसलाई भव्य र रचनात्मक बनाउन विभिन्न समुदायको कला संस्कृति झल्किने झाँकी प्रदर्शन गरिएको थियो । मगर, थारु, नेवार, ब्राहमणलगायत समुदायले आ–आफ्नो समुदायको कला संस्कृतिसहितको झाँकी प्रदर्शन गरेका थिए । 

संविधान दिवसलाई उत्सवमय बनाउन विविधतायुक्त झाँकी प्रदर्शन गरिएको हो । राप्ती नेवारी समाजले परम्परागत रोपाइँ जात्रा, थारु समुदायको झाँकी, राप्ती स्काउट समूहले स्काउट झाँकी, राप्तीको नौमती बाजासहितका झाँकी प्रस्तुत गरिएको थियो ।