तनहुँ, असोज २ गते । भुजेल जातिको जन्मदेखि मृत्यु संस्कार, पितृ तथा प्रकृति पूजनका विधिलाई लिपिबद्धगरी तयार पारिएको ग्रन्थ ‘म्याहङो इम्याहङअ’ को आज विमोचन गरिएको छ । सर्जकद्वय विशम भुजेल र प्रदीप भुजेलले एक दशकभन्दा लामो समय अध्ययन, अनुसन्धान तथा विश्लेषण गरेर ‘म्याहङो इम्याहङअ’ तयार पार्नुभएको हो । भाषाविद् प्राध्यापक डा दानराज रेग्मीले ग्रन्थको विमोचन गर्नुभएको हो ।

विमोचन कार्यक्रममा भाषाविद् प्राध्यापक डा विधुविनोद कायस्थलगायत दार्जिलिङबाट आउनुभएका भुजेल संस्कृतिविद् रतन खवास, प्रमोद खवास, भुजेल संस्कृति एशोसिएसनका प्रमोद खवास, रतन खवास, धनप्रसाद तामाङलगायतको उपस्थिति थियो । 

भुजेल परम्पराअनुसार सगुन (रक्सी) खाएर उद्घाटन गरिएको सो कार्यक्रममा प्रथम भुजेल भाषाको गीत रेकर्ड गर्ने गायिका पार्वती भुजेलले गीत गाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो । स्थानीय गायिका बीना भुजेलले पनि गीत प्रस्तुत गर्नुभएको थियो ।

म्याहङो इम्याहङअका प्रमुख सर्जक विशम भुजेलले भुजेल जातिको जन्मदेखि मृत्यु कर्म, पितृपूजादेखि प्रकृतिपूजनको नेपाली भावानुवादको रुपमा  ग्रन्थ रहेको बताउनुभयो ।

उक्त ग्रन्थ सन् २०१२ मै पाण्डुलिपिगरी राखिएको भुजेल जातिको जीवनपद्धति रहेको लेखकद्वयको भनाइ छ । भुजेल समुदायको बसोबास रहेको स्थान तनहुँ, बाग्लुङ, चितवन र भारतको दार्जिलिङ, खर्साङ, कालिम्पोङमा खोजगरी ग्रन्थमा लिपिबद्ध गरिएको छ ।

भुजेल जाति छरिएर रहेको जाति हुन् ।  अल्पसङ्ख्यक भुजेलहरुले आफ्नो भाषा संस्कार संस्कृति बिर्सिसकेका छन् । यस भाषाको संरक्षण गर्र्ने सन्दर्भमा ‘म्याहङो इमाह्ङअ’ ले मार्गदर्शनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।