कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ।
विराटनगर, असोज २ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज बुधबार बसेको प्रदेशसभा बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।


मुख्यमन्त्रीको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १५ मत परेको छ । कुल ९३ सांसद सङ्ख्या रहेको कोशी प्रदेशमा बैठकमा ८३ जना सांसदहरुको मात्रै उपस्थिति रहेको थियो । आजको मत विभाजनमा ६ सिट सङख्या रहेको नेकपा एकीकृत समाजवादी भने मत विभाजनको प्रक्रियामा सामेल नै भएन ।
कोशी प्रदेश एमाले संसदीय दलका नेता एवम् मुख्यमन्त्री कार्कीको नेतृत्वमा एमाले र नेपाली काङ्ग्रेसको संयुक्त सरकार छ ।

माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नुभएका कार्कीको नेतृत्वमा गत २०८१ वैशाख २७ गते सरकार गठन भएपछि उहाँले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिनुभएको थियो । गत भदौ १४ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत दिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिएका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रदेशसभासभामा राख्नुभएको विश्वासको मतको पक्षमा एमाले र काङ्ग्रेसका सांसदहरूले मतदान गरेका हुन् । प्रदेशसभामा एमालेबाट उपसभामुख बाहेक ३९ र काङ्ग्रेसका २९ सांसद छन् । दुई पार्टीको सांसद सङ्ख्या ६८ जनाको छ । यद्यपि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन सत्ता पक्षकै २ सांसद अनुपस्थित रहनुभएको थियो । मुख्यमन्त्री कार्कीलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राप्रपाले विपक्षमा मत दिँदा नेकपा एकीकृत समाजवादी भने मतदान प्रक्रियामा सामेल भएन । जसपाकी एक मात्र सांसद निर्मला लिम्बू भने प्रदेशसभा बैठकमा उपस्थित हुनुभएन ।