फाइल तस्वीरः मुख्यमन्त्री हिक्मतकुमार कार्की ।
विराटनगर, असोज २ गते ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिंदै हुनुहुन्छ । गत वैशाख २७ गते नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नुभएका एमाले कोशी प्रदेश संसदीय दलका नेता कार्कीले काङ्ग्रेससँगको सत्ता समीकरणपछि आज बुधबार प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट सान १२ गते बाहिरिए पछि १४ गते मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्तालिएको थियो । संविधानको धारा १६८(५) अन्तर्गत मुख्यमन्त्री बन्नुभएका कार्की माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर काङ्ग्रेससँग नयाँ समीकरण बनेपछि दोस्रोपटक आज विश्वासको मत लिन लाग्नुभएको हो । यस अघि मुख्यमन्त्री कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिनुभएको थियो । मुख्यमन्त्री कार्कीलाई सत्ता सहयात्री दल नेपाली काङ्ग्रेसको समर्थन रहेको छ ।

तीन पटकसम्म कोशी प्रदेश सरकारको मुख्यमन्त्री बन्नुभएका कार्कीसँग अहिले दुई तिहाई बहुमत छ तेस्रो पटक नियुक्त भएका कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

त्रियानब्बे सदस्य रहेको कोशी प्रदेशमा नेकपा एमालेका ४० र नेपाली काङ्ग्रेसका २९ जना प्रदेशसभा सदस्य हुनुहुन्छ । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ४७ जना सांसद्को समर्थन आवश्यक हुन्छ । एमाले र काङ्ग्रेसको गरी मुख्यमन्त्रीको पक्षमा ६९ मत रहने देखिन्छ । गठबन्धन परिवर्तन भएसँगै अहिलेको सरकारसँग दुई तिहाइ बहुमत रहेको छ । कोशी प्रदेशसभामा एमालेका ४० र नेपाली काङग्रेसका २९ जना माओवादी केन्द्रका १३ जना, राप्रपाका छ जना, नेकपा एकीकृत समाजवादीका चार जना र जसपाका एक जना सांसद् हुनुहुन्छ ।